काठमाडौं । नेपाली कांग्रेसको आज बिहान ११ बजेका लागि तय गरिएको केन्द्रीय कार्यसम्पादन समिति बैठक साढे एक घण्टा ढिलाइपछि स्थगित गरिएको छ ।
सहमहामन्त्री महालक्ष्मी उपाध्यायका अनुसार, बैठक सुरु हुनुअघि नै स्थगित गर्ने निर्णय गरिएको हो । उनले भनिन्, ‘आजको बैठकमा सभापति शेरबहादुर देउवाले संक्षिप्त रूपमा सम्बोधन गर्ने र त्यसपछि बैठक स्थगित गर्ने योजना थियो ।’
अब स्थगित गरिएको बैठक आगामी बिहीबार बस्ने र त्यसमा कार्यसूची (एजेन्डा) सम्बन्धी विषयमा विस्तृत छलफल हुने तयारी गरिएको छ ।
मंगलबार बिहान सभापति देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच बैठकका एजेन्डाबारे छलफल भएको देउवाको सचिवालयले जनाएको छ । परम्पराअनुसार, कांग्रेसको केन्द्रीय समिति बैठकमा सभापतिको परामर्शमा महामन्त्रीहरूले एजेन्डा पेस गर्ने चलन रहेको छ । तर हालसम्म एजेन्डा औपचारिक रूपमा तय भएको छैन ।
यता, उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा पदाधिकारी तथा कार्यसम्पादन समिति बैठक विगत केही दिनदेखि निरन्तर बसे पनि महाधिवेशनको मिति टुंगोमा आउन सकेको छैन । पार्टीभित्र १५औँ महाधिवेशन मंसिरभित्रै गर्ने कि केही समय पर सार्ने भन्ने विषयमा मतभेद कायमै रहेको स्रोतले जनाएको छ ।
यसअघि, भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’का क्रममा प्रदर्शनकारीहरूले सभापति देउवा र उनकी पत्नीमाथि घरमै आक्रमण प्रयास गरेका थिए । उक्त घटनापछि देउवा सार्वजनिक रूपमा देखा नपरेको पनि पार्टी निकट स्रोतले जनाएको छ ।
प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार












प्रतिक्रिया