काठमाडौं । भदौ २४ गते भएको ‘जेनजी आन्दोलन’पछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलोपटक सार्वजनिक रूपमा देखिएका छन्।
मंगलबार देउवा पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा सहभागी हुन पुगेका थिए। यो बैठकमा उनी लामो समयपछि पहिलोपटक सार्वजनिक उपस्थितिका लागि आएका हुन्।
बुढानीलकण्ठस्थित आन्दोलनकारीको कुटपिटमा परेका देउवा र उनकी पत्नी आरजु राणा देउवालाई नेपाली सेनाले उद्धार गरेर सुरक्षित स्थानमा लगेको थियो। घटनापछि पटकपटक हेलिकप्टरमार्फत उद्धार प्रयास भए पनि सुरक्षाका कारण सम्भव नभएको बताइएको थियो।
अन्ततः सेनाले स्थलमार्गबाट उनीहरूलाई अस्पताल पुर्याएको थियो। सुरक्षाको कारणले देउवाको उपचारको स्थान खुलाइएको थिएन। टाउकोमा गम्भीर चोट लागेका सभापतिले १२ टाँका राखाएको जानकारी पछि कांग्रेस नेता मीन विश्वकर्माले पत्रकार सम्मेलनमार्फत दिएका थिए।
देउवाको सार्वजनिक उपस्थितिले पार्टी कार्यकर्ताहरूमा उत्साह थपेको र आगामी राजनीतिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्ने संकेत गरेको छ।
प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार












प्रतिक्रिया