काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हमासद्वारा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको शव डीएनए परीक्षणमार्फत पुष्टि भएको खबरले आफू गहिरो दुःखमा परेको बताएका छन्।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै प्रचण्डले नेपाल सरकार, सम्बन्धित निकायहरू तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय तहमा भएका निरन्तर प्रयासका बाबजुद विपिनलाई जीवित फर्काउन नसक्नु अत्यन्त पीडादायी भएको बताएका हुन्।
उनले लेखेका छन्, ‘विपिनको अपहरणपछि उहाँको सकुशल मुक्तिका लागि सरकार र सम्बन्धित निकायहरूले निरन्तर प्रयास गरे पनि जीवित फर्काउन असफल हुनु निकै दुःखद र हृदयविदारक विषय हो।’
प्रचण्डले विपिनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
उनले थप भनेका छन्, ‘मैले पनि आफन्त गुमाउने पीडा नजिकबाट अनुभव गरेको व्यक्ति हुँ। यो असह्य क्षणमा धैर्यधारण गर्दै अघि बढ्न म परिवारका सबै सदस्यलाई हार्दिक अनुरोध गर्दछु।’
प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार













प्रतिक्रिया