चितवन । जेनजी प्रदर्शनका क्रममा घाइते भएका बिरामीलाई लक्षित गर्दै राज्यले भैपरी खर्च उपलब्ध गराउन लागेको छ । सोहीअनुसार प्रदर्शनका क्रममा जिल्ला र जिल्ला बाहिर भएका झडपमा परेका जिल्लावासीलाई भैपरी खर्च उपलब्ध गराउन थालिएको हो ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा गौतमका अनुसार गृह मन्त्रालयबाट प्राप्त पत्रका आधारमा भैपरी खर्च र परिचयपत्र वितरणको काम थालिएको छ । कार्यालयले एक सूचना जारी गर्दै प्रदर्शनका क्रममा घाइते भई अस्पतालमा उपचार गराएका बिरामीले टिकट/पुर्जी /डिस्चार्ज कागजात/उपचार खर्चको बिल भर्पाई, नेपाली नागरिकताको प्रमाणपत्र (सक्कल), फोटो दुई थान र घाइतेको नाममा रहेको बैंक खाता खुल्ने चेकको प्रतिलिपि लिएर जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न भनिएको छ ।

advertisement

परिचयपत्रको अभिलेखमा हस्ताक्षर र औँठाछाप गर्नुपर्ने भएकाले घाइते स्वयम् उपस्थित हुन उनले आग्रह गरे । यो परिचयपत्र प्राप्त गरेका व्यक्तिले राज्यबाट बिभिन्न किसिमका सुविधा प्राप्त गर्नसक्ने छन् ।

चितवन जिल्ला स्थायी ठेगाना भएर अन्य जिल्लामा घाइते भएकालाई समेत यस कार्यालयबाट भैपरी खर्च र परिचयपत्र वितरण गरिने उनले जानकारी दिए । उनका अनुसार गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनमा चितवनमा १२३ जना घाइते भएको विवरण कार्यालयसँग छ । गृह मन्त्रालयले चितवनसहित अन्य जिल्लामा भएका घाईतेहरु १४२ जनामा नामावलीसहित भैपरी खर्चबापत रु २० हजारका दरले खर्च पठाएको उनले बताए ।

प्रदर्शनका घाइतेहरूको नामावली छुटेको अवस्था रहेको भए पुनः गृह मन्त्रालयमा पठाउने गरी काम गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गौतमले बताए । अहिले राज्यले प्रारम्भिक चरणमा भैपरी खर्च र परिचयपत्रको व्यवस्था गरेको जनाउँदै उहाँले जेनजी प्रतिनिधिहरूको उपस्थितिमा दुवै काम गरिने उल्लेख गरे ।

प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com