काठमाडाैं । नेकपा एमालेका नेता महेश बर्तौलाले देश अहिले संवैधानिक मार्गबाट विमुख भएको बताएका छन्। उनका अनुसार अन्तरिम सरकार गठनदेखि संसद् विघटनसम्मका सबै प्रक्रिया असंवैधानिक ढंगले अघि बढाइएका छन्।
बुधबार सिंहदरबारमा सभामुखसँगको भेटपछि पत्रकारहरूसँग कुरा गर्दै बर्तौलाले संसद् विघटनलाई असंवैधानिक, अराजनीतिक र अलोकतान्त्रिक निर्णय भने। उनका अनुसार जनताको अधिकार र प्रतिनिधित्व सुनिश्चित गर्ने माध्यम संसद् भएकाले यसको पुनर्स्थापना अत्यावश्यक छ।
नेता बर्तौलाले सरकार र गृहमन्त्री निर्वाचन गराउने जिम्मेवारीका सट्टा निर्वाचन नै रोक्ने प्रयासमा लागेको आरोप लगाए। उनले भने,’राजनीतिक दलहरूले आफ्ना एजेन्डा लिएर जनतामाझ जान पाउने वातावरण बनाउनु सरकारको दायित्व हो, तर अहिले त्यसतर्फ कुनै प्रतिबद्धता देखिँदैन।’
उनका अनुसार वर्तमान सरकार दलहरूसँग संवादहीन छ र राजनीतिक सहमतिको वातावरण सिर्जना गर्न असफल भएको छ। साथै, लुटिएका हतियार खोजी गर्ने जस्तो गम्भीर विषयमा समेत गृहमन्त्रीले आवश्यक चासो नदेखाएको आरोप पनि उनले लगाए।
बर्तौलाले संविधानको मर्मअनुसार देश सञ्चालन गर्न सबै राजनीतिक शक्तिहरू जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याएका छन्।
प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार












प्रतिक्रिया