काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले सधैंका लागि सत्ताबाट बाहिरिएको भ्रममा नपर्न आग्रह गरेका छन्। बुधबारदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले देशको समृद्धि र स्थायित्वका लागि एमाले अपरिहार्य रहेको स्पष्ट पारे।
अध्यक्ष ओलीले भने, ‘देशका लागि नेकपा (एमाले) चाहिन्छ। अहिले हामी केही समयका लागि सरकारबाट बाहिरिएका छौं, तर त्यसैले सधैंका लागि एमाले हट्यो भन्ने भ्रम कसैले पाल्न नपरोस्।’
उनले एमाले नेतृत्वको सरकारले देशको दीर्घकालीन हितका लागि ऐतिहासिक कामहरू सुरु गरेको उल्लेख गरे। ओलीका अनुसार आफ्नो सरकारकालमा चीनसँग ट्रान्स्पोर्ट तथा ट्रान्जिट सम्झौता सम्पन्न गरिएको, दैलेखमा पेट्रोलियम पदार्थ (ग्यास) खानीको सर्वेक्षण गरिएको र नवलपरासीको धौवादीमा फलाम उद्योगको सम्भाव्यता अध्ययन सुरु गरिएको थियो।
यी योजनाहरू असाधारण महत्वका रहेको उल्लेख गर्दै उनले निकट भविष्यमा नेपालले उद्योग र व्यवसायिक उत्पादनको नयाँ युगमा प्रवेश गर्ने विश्वास व्यक्त गरे।
अध्यक्ष ओलीले देशको स्वाभिमान, विकास र सुशासनका लागि एमालेले निरन्तर जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि दोहोर्याए।
प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार












प्रतिक्रिया