काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका विध्वंसात्मक घटनाबारे आफू पहिले नै अवगत रहे पनि त्यसलाई रोक्न नसकिएको बताएका छन् ।
बुधबारदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले यस्ता गतिविधि पहिले पनि गराउने प्रयास भए तापनि यसपटक नियन्त्रण गर्न नसकिएको बताए ।
‘यस्तो ठूलो घटना हुँदा पनि थाहा थिएन भनेर नबुझ्नुस्,’ ओलीले भने, ‘पहिले नै सूचनाहरू आएका थिए । चैत १५ गते पनि यस्तै प्रयास भएको थियो । ती प्रयासहरूलाई पटक–पटक रोक्दै आएको थिएँ, तर यसपटक रोक्न सकिएन ।’
जेन–जी आन्दोलनको दोस्रो दिन अर्थात् भदौ २४ गते ओली प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए । उनले आन्दोलनका माग र त्यसपछिको राजनीतिक घटनाक्रमबीच प्रतिगामी शक्तिहरूले षड्यन्त्रपूर्वक सम्बन्ध गाँसेको आरोप लगाए ।
‘जेन–जी आन्दोलनका अगुवाहरू स्वयं पनि भन्छन्, संसद् विघटन वा सरकार ढाल्ने माग हाम्रो थिएन,’ ओलीले भने, ‘आन्दोलन सुरु भएको पहिलो दिनमै दिउँसोदेखि त्यसलाई हाइज्याक गरिएको उनीहरूले नै बताइरहेका छन्, र वास्तवमै भएको पनि यही हो ।’
प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार













प्रतिक्रिया