काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र असन्तुष्ट समूहले आवश्यक हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गरे आफू अध्यक्ष पद छोड्न तयार रहेको बताएका छन्।
बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि निर्णय सार्वजनिक गर्दै उनले पार्टीभित्रको असन्तुष्टि समाधान गर्न संस्थागत प्रक्रियामार्फत अघि बढ्न आग्रह गरे।
लिङ्देनका अनुसार राप्रपामा करिब ४,६०० महाधिवेशन प्रतिनिधि छन्, जसको २५ प्रतिशत — झण्डै १,२०० देखि १,३०० प्रतिनिधिको हस्ताक्षर जुटे विशेष महाधिवेशन बोलाउन सकिने व्यवस्था छ।
‘यदि त्यति संख्यामा प्रतिनिधिहरूले मेरो कार्यशैली वा योग्यता प्रश्न गर्दै हस्ताक्षर गरेर माग गरे भने म महाधिवेशन बोलाउँछु र अध्यक्ष पद समेत हस्तान्तरण गर्न तयार हुन्छु,’ उनले स्पष्ट पारे।
तर उनले केही व्यक्तिलाई असन्तुष्टि भएको भरमा पार्टीको स्थायित्वलाई संकटमा पार्ने प्रयास स्वीकार्य नहुने बताए। ‘व्यक्तिगत असहमति वा मन नपर्ने कारणले म पद छोड्दिनँ,’ लिङ्देनले भने, ‘पार्टीको विधि, पद्धति र लोकतान्त्रिक प्रक्रिया अनुसार निर्णय हुन्छ।’
उनले राप्रपाभित्रको मतभेदलाई आन्तरिक छलफल र संस्थागत अभ्यासबाट समाधान गर्न सबैलाई आग्रह गर्दै पार्टीलाई अनुशासन र एकताको मार्गमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार












प्रतिक्रिया