काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार, अदालतको आदेशअनुसार उनलाई सुन्धारास्थित केन्द्रीय कारागार (जगन्नाथदेवल कारागार)मा पठाइएको हो।

मंगलबार र बुधबार अदालतमा भएको बयान तथा थुनछेक बहसपछि न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले महरालाई थुनामा पठाउने आदेश जारी गरेको हो।

advertisement

महरामाथि ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो मागदाबीसहित तीन वर्षभन्दा बढी कैद सजाय माग गरिएको छ। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार पक्राउ गरेको थियो।

महरामाथि सन् २०२३ डिसेम्बर २५ (२०७९ पुस १०) मा चिनियाँ नागरिक लि हानसङले विद्युतीय चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप छ।

त्यस दिन फ्लाई दुबईको उडान नम्बर एफजेट ०५८७ मार्फत काठमाडौं आएका हानसङका दुई सुटकेस शंकास्पद देखिएपछि विमानस्थल भन्सारले जाँच गर्दा भेप भेटिएको थियो। पछि उनले पासपोर्ट लिएर नेपाल छोडे तर भेप भन्सारमै थन्किएको थियो।

भेपभित्र तस्करीको सुन लुकाइएको आशंका पछि विमानस्थलका केही कर्मचारीहरूले सुटुक्क साटेको निष्कर्ष सीआईबीको अनुसन्धानले निकालेको छ।

२०७९ वैशाख २६ गते भन्सार कार्यालयले सीआईबीलाई पत्राचार गरी अनुसन्धान गर्न अनुरोध गरेपछि दुई महिनाको अनुसन्धानपछि सीआईबीले ९ किलो सुन तस्करी भएको ठहर गर्दै भन्सार नासु रेवन्त खड्कासहित ६ जनामाथि मुद्दा दायर गरेको थियो।

पूरक अभियोगमा चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङ, उनका चालक लोकेन्द्र पौडेल, राहुल महरा र नीमा गुरुङलाई मतियारका रूपमा मुद्दा दायर गरिएको छ।

उक्त फाइलमा पूर्वसभामुख महराको संलग्नता देखिएपछि सीआईबीले थप अनुसन्धान अघि बढाउँदै केही दिनअघि उनलाई पक्राउ गरी बयान लिएको थियो।

प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com