काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अब रूसबाट तेल नकिन्ने दाबी गरेका छन् ।
बिहीबार ह्वाइट हाउसमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदी मेरा साथी हुन् । हाम्रो सम्बन्ध निकै राम्रो छ ।’
उनले थपे, ‘भारतले रूसबाट तेल किन्दा म खुसी थिइनँ, तर आज मोदीजीले मलाई भारतले अब रूसबाट तेल नकिन्ने आश्वासन दिएका छन् । यो ठूलो कदम हो । अब हामीले चीनलाई पनि यस्तै गर्न लगाउनु पर्छ ।’
अमेरिकाले अगस्ट २०२५ मा रूसबाट तेल किनेको भन्दै भारतलाई २५ प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाइसकेको छ । यसअघि अमेरिकाले २५ प्रतिशत ‘रेसीप्रोकल’ भन्सार शुल्क लगाइसकेको थियो ।
यसरी भारतमाथि कुल ५० प्रतिशत भन्सार शुल्क पुगेको छ । फेब्रुअरी २०२२ मा रूस–युक्रेन युद्ध सुरु भएपछि युरोपले रूसी तेलमा प्रतिबन्ध लगायो । त्यसपछि रूसले तेल बिक्री एशियातर्फ मोड्यो ।
रिपोर्टअनुसार, सन् २०२१ मा भारतले रूसी तेलको मात्र ०।२ प्रतिशत आयात गरेको थियो । तर २०२५ सम्म पुग्दा रूस भारतको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता बन्यो । यो भनेको दैनिक औसत १।६७ मिलियन ब्यारेल हो, जुन भारतको कुल आवश्यकताको झण्डै ३७ प्रतिशत हुन्छ ।
भारतले रूसबाट अन्यत्रबाट भन्दा सस्तोमा तेल किन्न पाइरहेको छ । भारतीय निजी कम्पनीहरूले रूससँग दीर्घकालीन तेल सम्झौता गरेका छन् । त्यसैले यी सम्झौताहरू रातारात तोड्न सम्भव नहुने भारतीय अधिकारीहरु बताउँछन् ।
भारतले रूससहित इराक, साउदी अरब, अमेरिका लगायतका देशसँग तेल किन्दै आएको छ ।
प्रकाशित मिति: ३० आश्विन २०८२, बिहिबार












प्रतिक्रिया