काठमाडौं । पूर्व विज्ञानमन्त्री गणेश शाहले नेकपा माओवादी केन्द्रसँगको आफ्नो सम्बन्ध पूर्णतः अन्त्य गरेका छन् । उनले सक्रिय राजनीतिबाट समेत अवकाश लिएको घोषणा गरेका हुन् ।
हिमालय टेलिभिजनको कार्यक्रम ‘समय सन्दर्भ’मा बोल्दै शाहले आफू ७५ वर्षको उमेर पुगेको र अब नयाँ पुस्ता, विशेषगरी ‘जेन–जी’ आन्दोलनको सकारात्मक धारलाई सम्मान गर्दै राजनीतिक जीवनबाट अलग हुने निर्णय गरेको बताए ।
उनका शब्दमा, ‘अब म माओवादीको नेता मात्र होइन, सदस्य पनि रहिनँ । म राजनीतिबाट नै अवकाश लिँदैछु।’
शाह माओवादी केन्द्रको भंग भएको केन्द्रीय समितिमा सचिव पदमा कार्यरत थिए । उनले सन् १९७३ मा रसियाको लोभोभ विश्वविद्यालयबाट इन्जिनियरिङ विषयमा अध्ययन पूरा गरेका थिए ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) का महासचिव रहिसकेका शाह पार्टी एकता प्रक्रियामार्फत माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
अवकाशपछि पनि कुनै नयाँ राजनीतिक दलमा नजाने स्पष्ट पार्दै उनले भने, ‘नयाँ पार्टी बनाउने वा त्यसको अभिभावक बन्ने कुनै इच्छा छैन । अब म कुनै पनि राजनीतिक संगठनमा रहने छैन ।’
प्रकाशित मिति: ३० आश्विन २०८२, बिहिबार













प्रतिक्रिया