काठमाडौं । इजरायलमा मारिएका नेपाली युवा विपिन जोशीकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी अमेरिकाबाट आज बिहान काठमाडौं फर्किएका छन् । उनीहरू कतार एयरवेजको विमानमार्फत केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।
हमासले विपिनलाई बन्धक बनाएपछि उनको अवस्थाबारे जानकारी लिन र सकुशल रिहाइका लागि अन्तर्राष्ट्रिय समुदायमा दबाब सिर्जना गर्ने उद्देश्यले आमा र बहिनी सुरुमा इजरायल पुगेका थिए । त्यसपछि उनीहरू त्यही प्रयोजनका लागि अमेरिका गएका थिए ।
तर, उनीहरू अमेरिकामै रहेका बेला हमासले विपिन जोशीको मृत्यु भएको पुष्टि गर्दै उनको शव इजरायललाई हस्तान्तरण गरेको थियो । हाल विपिनको शव नेपाल ल्याउने तयारी प्रक्रिया अघि बढाइएको छ ।
विपिनकी आमा र बहिनीको अमेरिका, इजरायल र नेपाल आवागमनका सम्पूर्ण व्यवस्थापन इजरायली सरकारले गरेको बताइएको छ ।
इजरायलको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत दुई वर्षअघि अध्ययनका क्रममा गाजाको सीमावर्ती किबुत्ज सहरमा रहेका १७ नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणमा मृत्यु भएको थियो । त्यसै क्रममा विपिन जोशीलाई हमासले अपहरण गरी बन्धक बनाएको थियो ।
प्रकाशित मिति: ३० आश्विन २०८२, बिहिबार












प्रतिक्रिया