चितवन । नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमार्फत संगठित भएका युवाहरूको आन्दोलनलाई नयाँ राजनीतिक चेतनाको अभिव्यक्ति भएको बताएका छन् । उनले यो आन्दोलनले माओवादीले विगतदेखि उठाउँदै आएका माग र मूल्यहरूलाई पुनःजीवित गराएको टिप्पणी गरे ।
बिहीबार बिहान भरतपुरमा पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा बोल्दै प्रचण्डले ‘जेन–जेड’ आन्दोलन, सरकारको निष्क्रियता, राजनीतिक दलहरूको जिम्मेवारी, आसन्न निर्वाचन र वाम एकताको प्रसङ्गमा आफ्ना धारणा राखे ।
उनका अनुसार, ‘युवाहरूले उठाएका मागहरू हाम्रो पुरानो आन्दोलनकै निरन्तरता हुन् । माओवादीले सुरूदेखि उठाउँदै आएको भ्रष्टाचारविरुद्धको आवाज अहिले नयाँ पुस्ताको स्वर बनेर देशभर गुन्जिएको छ — यो गर्वको विषय हो ।’
प्रचण्डले भदौ २३ गते राजधानीमा भएको आन्दोलनका क्रममा देखिएको “गम्भीर सुरक्षा लापरवाही”लाई हिंसात्मक परिस्थितिको मुख्य कारण ठहर गरे । उनले तत्कालीन प्रधानमन्त्री तथा सरकार प्रमुखले संवेदनशील ढंगले व्यवहार नगरेको आरोप पनि लगाए ।
‘युवाहरूको आन्दोलन पूर्णतः शान्तिपूर्ण थियो, तर सरकारले सुरक्षा संयन्त्र तयार गर्न नसकेकाले र संवेदनशीलता नदेखाएकाले घटना भयावह बन्यो । कलेज ड्रेसमा रहेका युवाहरूको टाउको र छातीमा लक्षित गरी गोली चलाइनु अन्तर्राष्ट्रिय रूपमा समेत लज्जास्पद कुरा हो,’ उनले भने ।
उनका अनुसार, घटनाको राति नै आफू काठमाडौं फर्किएर आकस्मिक पार्टी बैठक बोलाएका थिए । त्यस बैठकले आन्दोलनमा मारिएका युवाहरूलाई सहिद घोषणा गर्ने, उच्चस्तरीय छानबिन समिति गठन गर्ने र तत्कालीन प्रधानमन्त्रीको राजीनामाको माग गर्दै आधिकारिक निर्णय गरेको थियो ।
‘हामीले आन्दोलनलाई वैधानिकता दियौँ, प्रतिपक्षी दलहरूलाई एउटै धारणा बनाउन आग्रह गर्यौँ, र देशलाई शान्तिपूर्ण समाधानतर्फ डोर्याउने प्रयास गर्यौँ,’ उनले स्मरण गरे ।
२४ गते सिंहदरबारमा प्रतिपक्षी दलहरूको बैठकपछि सुरक्षाको जोखिम बढेपछि सेनाको समन्वयमा सुरक्षित स्थानमा जानु परेको प्रसङ्ग उठाउँदै उनले स्पष्ट पारे, ‘हामीलाई कसैले नियन्त्रणमा लिएको होइन, हामीले परिस्थितिको मूल्याङ्कन गरेर सुरक्षा संयन्त्रको सहयोगमा सुरक्षित स्थानमा गएको हो ।’
देशको राजनीतिक दिशाबारे बोल्दै प्रचण्डले अब मुलुकको प्राथमिकता निर्वाचन नै भएको दाबी गरे । ‘राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख दलहरू र अन्तर्राष्ट्रिय समुदाय सबैले निर्वाचन नै अबको साझा निष्कर्ष हो भन्ने बुझिसकेका छन् । जनताले पनि परिवर्तनको बाटो चुनावमार्फत नै रोज्नेछन्,’ उनले भने ।
उनले संसद् पुनःस्थापनाको सम्भावना अझै रहिलेसमेत त्यस एजेन्डा अब गौण बनिसकेको बताए । एमाले बाहेकका सबै दलहरू निर्वाचनमा जान सहमत भइसकेको उल्लेख गर्दै उनले भने, ‘एमालेभित्र पनि बहुमत चुनावका पक्षमा छ, ढिलोचाँडो सबै दलहरू त्यसै दिशामा जानेछन् ।’
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै उनले जनधनको क्षतिपछि पनि आत्मसमीक्षा वा पश्चातापको कुनै संकेत नदेखिएको आरोप लगाए । ‘यति ठूलो जनधनको क्षति भयो, तर आजसम्म ओलीले कुनै पश्चाताप गरेका छैनन्,’ प्रचण्डले भने ।
प्रकाशित मिति: ३० आश्विन २०८२, बिहिबार













प्रतिक्रिया