काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनःस्थापनाको एजेन्डा अब गौण बनेको बताएका छन् ।

शुक्रबार बिहान चितवनको भरतपुर–कृष्णपुरस्थित पार्टी जिल्ला कार्यालय परिसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नेकपा (एमाले) बाहेकका सबै दल आसन्न निर्वाचनमा जान सहमत भइसकेको बताए ।

advertisement

उनका अनुसार, ‘एमालेभित्र पनि बहुमत चुनावको पक्षमा छ । ढिलोचाँडो सबै दलहरू चुनावमा जान बाध्य हुनेछन् । ‘

सामाजिक सञ्जालमार्फत संगठित भएको नयाँ पुस्ताको आन्दोलनबारे कुरा गर्दै प्रचण्डले यसलाई ‘नयाँ राजनीतिक चेतनाको संकेत’का रूपमा लिँदै त्यसले माओवादीको पुरानो राजनीतिक एजेन्डासँग समानता राख्ने बताए ।

उनले भने, ‘युवाहरूले उठाएका मागहरू हाम्रो आन्दोलनसँग गहिरो सम्बन्ध राख्छन् । माओवादीले सुरूदेखि उठाउँदै आएको भ्रष्टाचारविरोधी अभियान आज जेन–जेड पुस्ताको स्वर बनेर प्रस्तुत हुनु गौरवको विषय हो ।’

भदौ २३ गते राजधानीमा भएको आन्दोलनका क्रममा देखिएको ‘गम्भीर सुरक्षा लापरवाही’को जिम्मेवारी तत्कालीन प्रधानमन्त्री र सरकार प्रमुखमाथि पर्ने उनको भनाइ थियो ।

‘युवाहरूको आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण थियो, तर सरकारले सुरक्षा संयन्त्र तयार नगरी संवेदनशीलता नदेखाएकै कारण घटना हिंसात्मक बन्यो । कलेज ड्रेसमा रहेका युवाहरूको टाउको र छातीमा लक्षित गरी गोली चलाइनु अन्तर्राष्ट्रिय रूपमा समेत लज्जास्पद कुरा हो,’ उनले भने ।

२४ गते सिंहदरबारमा प्रतिपक्षी दलहरूको बैठकपछि सुरक्षा जोखिम बढेपछि आफूले नै पहल गरेर सेनाको समन्वयमा सिंहदरबारभित्र सुरक्षित रहनुपरेको प्रसङ्ग स्मरण गर्दै उनले स्पष्ट पारे, ‘हामीलाई कसैले नियन्त्रणमा लिएको होइन, हामीले परिस्थितिको मूल्याङ्कन गरेर सुरक्षा संयन्त्रको सहयोगमा सुरक्षित स्थान रोज्यौँ ।’

देशको वर्तमान अवस्थाबारे टिप्पणी गर्दै प्रचण्डले अब निर्वाचनबाहेक अर्को विकल्प नरहेको दोहोर्‍याए ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीतर्फ संकेत गर्दै उनले भने, ‘उनको कारणले यति धेरै जनधनको क्षति भयो, तर आजसम्म कुनै आत्मसमीक्षा वा पश्चाताप देखिएको छैन ।’

प्रकाशित मिति: ३० आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com