काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेन–जी पुस्ताका मागहरू कार्यान्वयन गर्न सरकारले पूर्ण प्रतिबद्धताका साथ निरन्तर काम गरिरहेको बताएका छन् ।
बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खरेलले भ्रष्टाचारविरुद्धको जेन–जी आन्दोलनले उठाएका म्यान्डेटहरू आगामी पाँच महिनाभित्र पूरा गर्ने लक्ष्यसहित सरकार अघि बढिरहेको स्पष्ट पारे ।
उनका अनुसार, प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा रहेको नागरिक सरकारले जेन–जी पुस्ताको विश्वास र अपेक्षाअनुसार परिणाम देखाउने गरी अहोरात्र मेहनत गरिरहेको छ ।
मन्त्री खरेलले भने, ‘अब मेरो सञ्चार मन्त्रालयमा करिब पाँच महिनाको कार्यकाल बाँकी छ । यस अवधिमा कति गर्न सकिन्छ भन्ने निश्चित छैन, तर जानेर वा नियतवश गलत केही गर्ने छैन । जस्तो आएको थिएँ, त्यसरी नै स्वच्छ रूपमा फर्किनेछु ।’
उनले जोड दिए, ‘जेन–जी युवाहरूका मागहरू पूरा गर्नु अहिलेको सरकारको साझा जिम्मेवारी हो । त्यसका लागि हामी सबै संयन्त्र र स्रोतलाई प्रभावकारी रूपमा प्रयोग गर्दैछौं ।’
मन्त्री खरेलले सुशासन र पारदर्शिताको पक्षमा सरकार अडिग रहेको उल्लेख गर्दै मुलुकमा व्याप्त भ्रष्टाचार नियन्त्रण गर्ने विषयमा सरकार दृढतापूर्वक अघि बढिरहेको पनि बताए ।
प्रकाशित मिति: ३० आश्विन २०८२, बिहिबार













प्रतिक्रिया