पर्वत । पर्वत सदरमुकाम कुश्माबजार नजिकै अवस्थित बलेवा विमानस्थल ३६ वर्षदेखि बन्द रहँदा स्थानीयवासी निराश भएका छन् । विसं २०२२ मा निर्माण गरिएको विमानस्थल विसं २०४८ सम्म सञ्चालनमा रहे पनि त्यसपछि पूर्ण रूपमा बन्द भएको हो ।
स्थानीयले विमानस्थल पुनःसञ्चालनका लागि पटक–पटक पहल भए पनि ठोस परिणाम नदेखिएको गुनासो गरेका छन् । पोखरा–बागलुङ सडक विस्तारपछि यात्रुको अभावमा विमानस्थल बन्द गरिएको थियो ।
विसं २०७४ चैत ९ गते नेपाल एयरलाइन्स र तारा एयरले केही महिना उडान गरे पनि यात्रु अभावका कारण सेवा पुनः ठप्प भएको थियो । अहिले विमानस्थलमा करिब आठ करोड रुपैयाँ खर्च गरेर धावनमार्ग, पार्किङ, तारबार र टर्मिनल भवन मर्मत गरी आकर्षक बनाइएको छ ।
विमानस्थलका कार्यालय सहयोगी सविता शर्माका अनुसार नागरिक उड्डयन प्राधिकरणले चार वर्षअघि मात्रै कालोपत्र तथा पूर्वाधार मर्मत गरेको थियो । तर, जहाज नउडेपछि गरिएको लगानी निष्प्रभावी बनेको छ । ‘यहाँ १८ देखि २४ सिट क्षमताका जहाज सहजै सञ्चालन गर्न सकिन्छ,’ उनले बताइन् ।
बागलुङ–१४ नारायणस्थानका वडाध्यक्ष तथा नगर प्रवक्ता चक्रबहादुर खत्रीले परीक्षण उडान समेत नभएको बताए । ‘स्थानीय अझै जहाज आउने आशामा छन्, तर हरेक पटकको पहल निष्फल रह्यो,’ उनले भने ।
नगरप्रमुख वसन्तकुमार श्रेष्ठले पनि विमानस्थल सञ्चालनका लागि संघीय, प्रदेश र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको बताए । “नगरको एक्लो प्रयासले सम्भव छैन, ‘उनले भने, ‘कालीगण्डकी करिडोर कालोपत्र भइसकेपछि यात्रुको सहज आवागमनले विमानस्थल सञ्चालन सम्भव हुनेछ ।’
नगरपालिकाले विमानस्थललाई भविष्यमा पाइलट प्रशिक्षण केन्द्र र अल्ट्रालाइट उडानका लागि प्रयोग गर्ने योजना बनाएको पनि उनले जानकारी दिए ।
स्थानीय कमल जिसीका अनुसार कालीगण्डकी करिडोर, कुश्मा–बागलुङ जोड्ने यान्त्रिक पुल, बन्जी पुल र झोलुङ्गे पुल पूरा भएपछि यात्रुको समस्या हट्ने र विमानस्थल सञ्चालन हुने विश्वास गरिएको छ ।
तत्कालीन विमानस्थलका पूर्वप्रबन्धक सूर्यबहादुर खत्रीका अनुसार निजी एयरलाइन्सले यात्रु सुनिश्चितता नभएसम्म उडान भर्न नमान्दा समस्या देखिएको हो । “विमानस्थल सञ्चालनको सम्भावना अझै बाँकी छ,’ उनले भने, ‘तर यसको लागि स्थायी यात्रु सुनिश्चित गर्नुपर्नेछ ।’
- रासस
प्रकाशित मिति: ३० आश्विन २०८२, बिहिबार












प्रतिक्रिया