पर्वत । पर्वत सदरमुकाम कुश्माबजार नजिकै अवस्थित बलेवा विमानस्थल ३६ वर्षदेखि बन्द रहँदा स्थानीयवासी निराश भएका छन् । विसं २०२२ मा निर्माण गरिएको विमानस्थल विसं २०४८ सम्म सञ्चालनमा रहे पनि त्यसपछि पूर्ण रूपमा बन्द भएको हो ।

स्थानीयले विमानस्थल पुनःसञ्चालनका लागि पटक–पटक पहल भए पनि ठोस परिणाम नदेखिएको गुनासो गरेका छन् । पोखरा–बागलुङ सडक विस्तारपछि यात्रुको अभावमा विमानस्थल बन्द गरिएको थियो ।

advertisement

विसं २०७४ चैत ९ गते नेपाल एयरलाइन्स र तारा एयरले केही महिना उडान गरे पनि यात्रु अभावका कारण सेवा पुनः ठप्प भएको थियो । अहिले विमानस्थलमा करिब आठ करोड रुपैयाँ खर्च गरेर धावनमार्ग, पार्किङ, तारबार र टर्मिनल भवन मर्मत गरी आकर्षक बनाइएको छ ।

विमानस्थलका कार्यालय सहयोगी सविता शर्माका अनुसार नागरिक उड्डयन प्राधिकरणले चार वर्षअघि मात्रै कालोपत्र तथा पूर्वाधार मर्मत गरेको थियो । तर, जहाज नउडेपछि गरिएको लगानी निष्प्रभावी बनेको छ । ‘यहाँ १८ देखि २४ सिट क्षमताका जहाज सहजै सञ्चालन गर्न सकिन्छ,’ उनले बताइन् ।

बागलुङ–१४ नारायणस्थानका वडाध्यक्ष तथा नगर प्रवक्ता चक्रबहादुर खत्रीले परीक्षण उडान समेत नभएको बताए । ‘स्थानीय अझै जहाज आउने आशामा छन्, तर हरेक पटकको पहल निष्फल रह्यो,’ उनले भने ।

नगरप्रमुख वसन्तकुमार श्रेष्ठले पनि विमानस्थल सञ्चालनका लागि संघीय, प्रदेश र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको बताए । “नगरको एक्लो प्रयासले सम्भव छैन, ‘उनले भने, ‘कालीगण्डकी करिडोर कालोपत्र भइसकेपछि यात्रुको सहज आवागमनले विमानस्थल सञ्चालन सम्भव हुनेछ ।’

नगरपालिकाले विमानस्थललाई भविष्यमा पाइलट प्रशिक्षण केन्द्र र अल्ट्रालाइट उडानका लागि प्रयोग गर्ने योजना बनाएको पनि उनले जानकारी दिए ।

स्थानीय कमल जिसीका अनुसार कालीगण्डकी करिडोर, कुश्मा–बागलुङ जोड्ने यान्त्रिक पुल, बन्जी पुल र झोलुङ्गे पुल पूरा भएपछि यात्रुको समस्या हट्ने र विमानस्थल सञ्चालन हुने विश्वास गरिएको छ ।

तत्कालीन विमानस्थलका पूर्वप्रबन्धक सूर्यबहादुर खत्रीका अनुसार निजी एयरलाइन्सले यात्रु सुनिश्चितता नभएसम्म उडान भर्न नमान्दा समस्या देखिएको हो । “विमानस्थल सञ्चालनको सम्भावना अझै बाँकी छ,’ उनले भने, ‘तर यसको लागि स्थायी यात्रु सुनिश्चित गर्नुपर्नेछ ।’

  • रासस

प्रकाशित मिति: ३० आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com