काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफ्नो कार्यकालमा कुनै पनि गलत काम नगर्ने दृढ प्रतिबद्धता व्यक्त गरेका छन् ।
२५ वर्षको पत्रकारिता यात्रापछि विशेष परिस्थितिमा मन्त्री बनेका खरेलले इमान र निष्ठाको मर्यादामाथि कुनै दाग नलगाउने वाचा गरेका हुन् । हरिप्रसाद कल्याणी रिमाल नाट्यसंगीत प्रतिष्ठानद्वारा बिहीबार आयोजित सम्मान कार्यक्रममा बोल्दै उनले जिम्मेवारीलाई पूर्ण इमान्दारिताका साथ निर्वाह गर्ने प्रतिज्ञा गरे ।
‘म यहाँहरूलाई साक्षी राखेर वाचा गर्छु-जानेर, बुझेर, नियतबस खराब केही पनि गर्ने छैन,’ मन्त्री खरेलले भने, ‘बरु जस्तो आएको थिएँ, त्यस्तै फर्किनेछु। मैले के गर्न सकें र के गर्न सकिनँ, त्यसको मूल्यांकन समयले गर्नेछ।’
उनले प्राप्त सम्मानको गरिमालाई कायम राख्ने प्रतिबद्धता व्यक्त गर्दै भने, ‘मेरो कामले कहिल्यै कसैलाई भनाइमा पार्ने अवस्था आउन दिन्नँ। मेरो नाममा कुनै दाग नलागोस् भन्ने मेरो प्रयास हुनेछ।’
आफूलाई मन्त्रीभन्दा बढी सञ्चारकर्मीका रूपमा परिभाषित गर्दै खरेलले आफ्नो छोटो कार्यकालमा ‘जेनजी आन्दोलन’ले उठाएका मागहरू पूरा गर्न र नागरिक सरकारका लक्ष्यहरू हासिल गर्न केन्द्रित रहने बताए ।
“मेरो लागि हनिमुन अवधि छैन,’ उनले हाँस्दै भने, ‘तीन महिनापछि पदबाट जाने दिन सुरु हुनेछ, त्यसैले बाँकी समय जनताको पक्षमा सकेसम्म योगदान दिनेछु।’
प्रकाशित मिति: ३० आश्विन २०८२, बिहिबार













प्रतिक्रिया