काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टीको नियमित महाधिवेशन नै हुने दाबी गरेका छन्।
बिहीबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै महतले विशेष महाधिवेशनको कुनै योजना नभएको र १५औँ महाधिवेशन नियमित रूपमा हुने बताए।
उनका अनुसार, ‘विशेष महाधिवेशनको कुरा छैन, अधिवेशन नै हुनेछ। १५औँ महाधिवेशनमा वडादेखि माथिसम्मको सदस्यता टुंग्याउने लगायतका महत्वपूर्ण विषयहरूमाथि केन्द्रित छलफल हुनेछ।’
अहिलेसम्म कार्यसमितिको कार्यकाल सकिइसकेको अवस्थामा विशेष महाधिवेशन नगर्ने उनको स्पष्ट पक्ष रह्यो।
प्रवक्ता महतले जारी केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवाले राखेका सुझावहरूलाई पनि ध्यानमा राखेर छलफल गरिने बताए। ‘सभापतिले महत्त्वपूर्ण कुरा राख्नुभएको छ, त्यसलाई मध्यनजर गर्दै बैठकमा विचार हुनेछ,’ उनले भने।
महाधिवेशनको मिति निर्धारणबारे उनले थप स्पष्ट पारे, ‘महाधिवेशनको सन्दर्भमा मंसिर २१ गते चार वर्ष पूरा हुन्छ। हामी अधिवेशन ढिला नगरी आवश्यक विधि प्रक्रिया पूरा गर्नेछौं र निर्वाचनमा कुनै प्रतिकूल असर नपरोस् भन्ने सुनिश्चित गर्नेछौं।’
प्रकाशित मिति: ३० आश्विन २०८२, बिहिबार












प्रतिक्रिया