काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले केही समूहहरू आगामी निर्वाचनलाई बिथोल्ने प्रयासमा लागेको आरोप लगाउँदै सरकारले आवश्यक कडाइका साथ प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
जिल्ला समन्वय समिति भक्तपुरको कार्यालय अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री अर्यालले चुनाव विरोधी गतिविधि देखिने केही तत्वहरूलाई पहिले सम्झाइबुझाइ गरिने बताए । तर, सम्झाउँदा पनि नमानेमा सरकारले कानुनअनुसार कडा कदम चाल्ने उनको भनाइ थियो ।
‘केही तत्वहरूले निर्वाचनको माहोल बिगार्ने प्रयास गरेका छन्,’ उनले भने, ‘पहिले तिनीहरूलाई सम्झाइबुझाइ गर्ने हो, तर यदि त्यही दिशा लिन्छन् भने सरकारले आफ्नो ढंगले काम गर्छ । निर्वाचन तोकिएकै मितिमा, जसरी पनि गराउँछ ।”
मन्त्री अर्यालले वर्तमान सरकारको मुख्य उद्देश्य निष्पक्ष र स्वतन्त्र निर्वाचन सुनिश्चित गर्नु रहेको उल्लेख गर्दै सबै पक्षलाई संवादको माध्यमबाट समाधान खोज्न आह्वान गरे । ‘निर्वाचनका लागि सबै सरोकारवालाहरू संवादमा आउनुपर्छ,’ उनले भने,’राष्ट्रपतिज्यूले संवाद प्रारम्भ गरिसक्नुभएको छ, र सरकार पनि त्यसलाई सहज बनाउन प्रतिबद्ध छ ।’
उनले प्रहरीसहितका सुरक्षा निकायहरूको मनोबल उच्च राख्ने काम भइरहेको जानकारी पनि दिए । ‘सुरक्षा संयन्त्र तयार अवस्थामा छ, र हामीले शान्तिपूर्ण र विश्वसनीय निर्वाचन गराउने वातावरण सुनिश्चित गर्नेछौँ,’ गृहमन्त्री अर्यालले स्पष्ट पारे ।
प्रकाशित मिति: ३० आश्विन २०८२, बिहिबार













प्रतिक्रिया