काठमाडौं । जेन–जी प्रदर्शनका क्रममा ‘फ्रि तिब्बत’ समर्थक समूह टीओबी (Tibetan Original Blood) को टिसर्ट लगाएर पेस्तोल बोक्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

बौद्ध बसोबास गर्दै आएका तेन्जिङ दावा लामा असोज २६ गते पक्राउ परेका हुन्। उनी जेन–जी आन्दोलनका दिनहरू—भदौ २३ र २४—मा ‘टीओबी’ लेखिएको ज्याकेट लगाएर बुलेट बाइकमा बिजुलीबजार पुल आसपास प्रदर्शनमा देखिएको भिडियो फुजेटमा सार्वजनिक भएपछि पक्राउ परेका हुन्।

advertisement

प्रहरीका अनुसार फुजेटमा तेन्जिङको कम्मरमा पेस्तोल भिरेको देखिएपछि उनको परिचय, जन्मदर्ता र नागरिकता कागजात शंकास्पद ठहरिएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँले उनको विवरण यकिन गर्न जिल्ला प्रशासन कार्यालय र वडा कार्यालयसँग आधिकारिक जानकारी मागेको छ।

प्रहरीले प्राप्त प्रारम्भिक विवरणअनुसार तेन्जिङले २०६३ चैत १० गते काठमाडौँ महानगरपालिका–६, बौद्धमा जन्मदर्ता गरेका छन्। तर सो मिति शनिबार परेको कारण जन्मदर्ता कसरी भयो भन्ने प्रश्न उठेको छ। यसबारे पुष्टि गर्न वडा कार्यालयलाई पत्राचार गरिएको जिल्ला प्रहरी परिसरका एसएसपी रमेश थापाले जानकारी दिए।

तेन्जिङले २०७९ असार २४ मा नागरिकता लिएको र त्यसबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनले आफू २०५३ सालमा बौद्धमै जन्मिएको, बुबाको निधन भइसकेको र आमा भारतको कुशीनगरमा बसोबास गर्ने बताएका छन्। उनले एक बहिनी रहेको बताएका भए पनि प्रहरीका अनुसन्धान अधिकृतहरूले उनलाई सम्पर्कमा ल्याउन नसकेका छन्।

एसपी पवन भट्टराईका अनुसार, ‘तेन्जिङको पहिचान अझै स्पष्ट भएको छैन। उनका परिवारका कुनै सदस्य पनि सम्पर्कमा आएका छैनन्।’

प्रहरीले बौद्धस्थित उनको डेराबाट बरामद गरेको पेस्तोल नक्कली भएको पुष्टि गरेको छ। बयानका क्रममा तेन्जिङले आफू टीओबी नामक बाइकर्स समूहसँग आवद्ध रहेको र ‘आधा तिब्बतियन’ भएको बताएका छन्।

स्रोतका अनुसार प्रहरीले अहिले टीओबी समूहको पृष्ठभूमि, आर्थिक स्रोत र फन्डिङबारे थप अनुसन्धान गरिरहेको छ। समूहमा करिब ५०–६० जना सदस्य संलग्न रहेको बुझिएको छ।

तेन्जिङ पेशाले ट्याटु आर्टिस्ट र गायक समेत हुन्। टीओबी को लोगो पनि उनले नै डिजाइन गरेको बताइन्छ।

हाल प्रहरीले उनलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ। सामाजिक सञ्जालमा देखिएको भिडियो जेन–जी आन्दोलनभन्दा केही अगाडिको भएको प्रारम्भिक प्रमाण प्रहरीले जुटाएको जनाएको छ।

प्रकाशित मिति: ३० आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com