काठमाडौं । काठमाडौं महानगरपालिकाले अतिक्रमणमा परेका २०८ रोपनीभन्दा बढी सार्वजनिक जग्गा फिर्ता ल्याएको छ, जसको मूल्य करिब २३ अर्ब रुपैयाँ बराबर रहेको छ।
महानगरका मेयर बालेन साहले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै नेतृत्व सम्हालेको अवधि यता फिर्ता गरिएका सबै जग्गा सार्वजनिक उपयोगका लागि पुनः प्रयोगमा ल्याइसकिएको बताएका छन्।
‘हामीले महानगरको नेतृत्व लिएपछि हालसम्म २३ अर्ब रुपैयाँ मूल्य बराबरको २०८ रोपनीभन्दा बढी सार्वजनिक जग्गा फिर्ता गरिसकेका छौं,’ मेयर साहले लेखेका छन्।
उनका अनुसार महानगरले अब करिब २ खर्ब रुपैयाँ मूल्य बराबरको १ हजार ८५९ रोपनी १४ आना जग्गा फिर्ता ल्याउने लक्ष्य लिएको छ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार सार्वजनिक जग्गा र सम्पत्तिको संरक्षण, व्यवस्थापन तथा पुनः प्राप्तिको सम्पूर्ण अधिकार स्थानीय तहलाई प्रदान गरिएको छ। सोही प्रावधानअनुसार महानगरले अतिक्रमण, कब्जा र हडप्ने प्रवृत्तिको अन्त्य गर्न अभियान सञ्चालन गरिरहेको जनाएको छ।
फिर्ता गरिएका जग्गा फेरि कब्जामा नपरोस् भन्ने उद्देश्यले ती क्षेत्रहरूलाई खुला पार्क, खेलमैदान, स्केटबोर्ड पार्क, सत्तल, हरित क्षेत्र र सार्वजनिक स्थल का रूपमा विकास गर्ने कार्य तीव्र गतिमा अघि बढाइरहेको महानगरले जनाएको छ।
यस अभियानलाई संस्थागत रूप दिन पूर्वसचिव रामबहादुर रावलको अध्यक्षतामा गठित आयोगको प्रतिवेदनलाई नीतिगत आधार मानेर मिचिएका १ हजार ८५९ रोपनी १४ आना जग्गा पुनः सार्वजनिक प्रयोगमा ल्याउने लक्ष्यसहित कार्यान्वयन समिति गठन गरिएको छ। समितिले भोलिदेखि आफ्नो काम औपचारिक रूपमा सुरु गर्ने जनाएको छ।
प्रकाशित मिति: ३० आश्विन २०८२, बिहिबार












प्रतिक्रिया