काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले गृह मन्त्रालयको एक महिनाको प्रगति सार्वजनिक गर्दै देशको शान्ति–सुरक्षा सामान्यीकरण हुँदै निर्वाचन तयारी तीव्र गतिमा अघि बढेको बताएका छन्।
उनका अनुसार जेनजी आन्दोलनका मृतक, घाइते र क्षतिग्रस्त संरचनाको पुनःस्थापना कार्य अघि बढाइएको छ। हालसम्म आन्दोलनमा मृत्यु भएका ७६ जनाको विवरण सङ्कलन भइसकेको र उनीहरूलाई सहिद घोषणा प्रक्रिया अघि बढाइएको छ। मृतकका परिवारलाई प्रतिपरिवार १५ लाख रुपैयाँ सहायता रकम वितरण गरिएको छ।
गृहमन्त्री अर्यालले आन्दोलनका क्रममा क्षति भएका ४५२ प्रहरी एकाइमध्ये ४०१ पुनःनिर्माण भई सञ्चालनमा आइसकेको जानकारी दिए। साथै, विभिन्न कसुरमा फरार १६१ जना पक्राउ परेका र आन्दोलनपछि फरार १४ हजार ५५६ कैदीमध्ये ९ हजार २१९ जना पुनःफिर्ता ल्याइएका छन्।
उनका अनुसार हालसम्म ५९४ थान लुटिएका हतियारमध्ये ५९४ मध्ये अधिकांश फिर्ता गरिएका छन्। अवैध चोरी, निकासी र पैठारीका सामान रु १० करोड ४ लाख बराबर बरामद गरिएका छन् भने त्रिभुवन विमानस्थलबाट रु ७५ लाखभन्दा बढीको सुन बरामद गरिएको छ।
अध्यागमन विभागमार्फत ६७ जना विदेशी नागरिक निष्कासन गरिएको र वैकल्पिक डाटा सेन्टर स्थापना गरिएको मन्त्रालयले जनाएको छ।
विपद् व्यवस्थापनतर्फ असोज महिनामा मनसुन प्रतिकार्यमा सेना, प्रहरी र एपीएफ परिचालन गरिएको र ४२५७ जनाको उद्धार, ३७२९ जनालाई सुरक्षित स्थानमा सारिएको मन्त्री अर्यालले बताए। इलामलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्दै तत्काल राहत र पुनःस्थापना प्रक्रिया अघि बढाइएको छ।
निर्वाचन तयारी अन्तर्गत मतदाता नामावली ऐन संशोधन अध्यादेश राष्ट्रपतिबाट स्वीकृत भइसकेको र विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने कानुनी तयारी भइरहेको उनले जानकारी दिए। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एकीकृत सुरक्षा योजना कार्यदल गठन गरी तयारी सुरु भएको मन्त्रालयले जनाएको छ।
अर्यालले देशभर कानुनी शासन, सुशासन र शान्ति–सुरक्षाको प्रत्याभूति मार्फत जनजीवन सामान्यीकरण भएको दाबी गर्दै “भयरहित, निष्पक्ष र स्वच्छ निर्वाचन” सम्पन्न गर्न गृह मन्त्रालय प्रतिबद्ध रहेको बताए।
प्रकाशित मिति: ३० आश्विन २०८२, बिहिबार













प्रतिक्रिया