काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले पछिल्लो समयमा देशका विभिन्न स्थानमा देखिएका धार्मिक र साम्प्रदायिक घटनाहरूले राष्ट्रिय सुरक्षा व्यवस्थामा नयाँ चुनौती थपेको बताएका छन्।
७०औं प्रहरी दिवसको अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित समारोहमा बोल्दै मन्त्री अर्यालले नेपाली समाजको मूल विशेषता रहेको आपसी सद्भाव, सहिष्णुता र भाइचारामा दुष्प्रयासपूर्वक हस्तक्षेप गर्ने गतिविधि देखिन थालेको बताउँदै त्यसले सुरक्षाको अवस्था जटिल बनाइरहेको टिप्पणी गरे।
उनले यस्ता घटनालाई रोकथाम र नियन्त्रणका लागि सुरक्षासंस्थालाई तत्काल सक्रिय हुन निर्देशन दिएका छन्। ‘धार्मिक र साम्प्रदायिक आधारमा समाजमा विभाजन ल्याउने कुनै पनि गतिविधिलाई समयमै रोक्न, इन्टरभेन्सन गर्न र भविष्यमा पुनरावृत्ति हुन नदिन गम्भीरतापूर्वक लाग्न निर्देशन दिएको छु,’ मन्त्री अर्यालले भने।
कार्यक्रममा उनले भदौ २३ र २४ गते जेनजी युवा समूहद्वारा आयोजित आन्दोलन अपेक्षाभन्दा फरक रूपमा विकसित भएको उल्लेख गर्दै त्यस क्रममा नेपाल प्रहरीले ठूलो क्षति बेहोर्नुपरेको बताए। उनले यस्तो अवस्थाले नागरिक असन्तुष्टि र निराशाको भाव प्रकट गरेको भए पनि त्यसको समाधानका लागि सरकार गम्भीर रूपमा जुटिरहेको स्पष्ट पारे।
प्रकाशित मिति: ३१ आश्विन २०८२, शुक्रबार













प्रतिक्रिया