काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार पनि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ। असोज २८ गतेदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरूले समसामयिक राजनीतिक परिस्थितिबारे धारणा राख्ने क्रम निरन्तर चलिरहेको छ।
शुक्रबारको बैठकमा सभापति शेरबहादुर देउवाको कुर्सी खाली राखिएको छ भने कार्यवाहक सभापति पूर्णबहादुर खड्का देउवाको सिट नजिकै बसेका छन्। देउवाले असोज २८ गतेको प्रारम्भिक बैठकमा सम्बोधन गर्दै कार्यकारी नेतृत्वबाट अलग हुने घोषणा गर्दै उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए।
बैठकको सुरुवातमा कार्यवाहक सभापति खड्काले पछिल्ला राजनीतिक घटनाक्रम र पार्टीभित्रका गतिविधिबारे जानकारी गराएका छन्। त्यस्तै, महामन्त्री गगनकुमार थापाले बैठकमा विभिन्न प्रस्तावहरू प्रस्तुत गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
बिहीबारको बैठकमा डा. शेखर कोइराला, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, शिवप्रसाद हुमागाईं, राजीव कोइराला, गुरु बराल र नृपबहादुर वडलगायतका केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका थिए।
पदाधिकारी र सदस्यहरूले बोल्ने क्रम शुक्रबार पनि जारी रहेको सचिवालयले जनाएको छ। बैठक बिहान साढे ११ बजेदेखि सुरु भई निरन्तर चलिरहेको छ।
देउवाले पहिलो दिन लिखित मन्तव्यमार्फत स्वास्थ्य कारणले सक्रिय नेतृत्व सम्भव नभएको बताउँदै कार्यवाहकको रूपमा खड्कालाई जिम्मेवारी दिएका थिए। उनले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी नदिने घोषणा पनि गरिसकेका छन्।
प्रकाशित मिति: ३१ आश्विन २०८२, शुक्रबार













प्रतिक्रिया