काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आपराधिक सोच भएका केही समूहका कारण नजी आन्दोलन हिंसात्मक रूप लिएको बताएका छन्। शुक्रबार ७०औँ प्रहरी दिवसको अवसरमा नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले आन्दोलनका नाममा राज्यका संरचना र नागरिक सम्पत्तिमाथि आक्रमण गरिएको बताए।
उनका शब्दमा, “आपराधिक मानसिकताका व्यक्तिहरूले आन्दोलनको आवरणमा नेपाल सरकारका महत्त्वपूर्ण प्रतिष्ठान, व्यापारिक संस्था, सार्वजनिक कार्यालय र नागरिकका निजी सम्पत्तिमाथि तोडफोड, आगजनी र लुटपाट गरी आन्दोलनलाई हिंसात्मक मोडमा पुर्याए।”
अर्यालका अनुसार देशभर सयौं प्रहरी कार्यालयमा आगजनी र तोडफोड भएका छन्। उनले भने, ”सवारी साधन ध्वस्त पारिए, हातहतियार र उपकरण लुटिए, प्रहरीमाथि भौतिक आक्रमणसमेत भयो। तर यतिबेला नागरिकको सहभागितामा ती संरचनाको पुनर्निर्माण भइरहेका घटनाले प्रहरी संगठन नागरिकको मर्ममा आधारित संस्थान भएको पुष्टि गरेको छ।”
गृहमन्त्रीले नेपाल प्रहरीले अभाव, दबाब र चुनौतीबीच पनि राज्यको जिम्मेवारी निष्ठापूर्वक पूरा गरेको प्रशंसा गरे। उनले भने, ‘हरेक संकट र आपतमा प्रहरी अग्रपंक्तिमा रही जनताको सुरक्षामा समर्पित रह्यो। यही समर्पण नै प्रहरी संस्थाको बल हो।’
निष्पक्ष अनुसन्धान र कानुनको कडाइपूर्वक कार्यान्वयन कानुनी शासनको आधार भएको भन्दै उनले प्रहरीलाई कुनै राजनीतिक वा व्यक्तिगत प्रभावमा नपरी सत्य र न्यायमा केन्द्रित रहन आग्रह गरे।
अर्यालले विश्वमा तीव्र गतिमा बढ्दो प्रविधिले नयाँ प्रकृतिका अपराध जन्माइरहेको बताए। उनका अनुसार, “डिजिटल अपराधदेखि अन्तर्राष्ट्रिय सञ्जालमार्फत हुने आपराधिक गतिविधि नियन्त्रण गर्न नेपाल प्रहरीले प्रविधि र दक्ष जनशक्ति दुबै सुदृढ गर्नुपर्नेछ।’
उनले बदलिँदो परिस्थिति र नागरिकको अपेक्षाअनुसार उच्च मनोबलका साथ कार्य गर्न प्रहरीलाई निर्देशन दिए। गृह मन्त्रालयले प्रहरीलाई आवश्यक साधनस्रोत र प्रविधिमा सुसज्जित बनाउन निरन्तर प्रतिबद्ध रहेको पनि उनले स्पष्ट पारे।
कार्यक्रममा प्रहरी महानिरीक्षक चन्द्रकुँवर खापुङले पनि जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटनाबाट देशले ठूलो क्षति व्यहोर्नुपरेको बताएका छन्।
उनले भने, ‘राज्यको अग्रपंक्तिमा सेवा दिँदै आएको नेपाल प्रहरीले नागरिकको स्नेह र आक्रोश दुवैलाई समान रूपमा सहनु परेको छ। आजको प्रहरी संगठन नागरिक सुरक्षाको विश्वसनीय प्रतिनिधिका रूपमा स्थापित भइसकेको छ।’
प्रहरी दिवसका अवसरमा गृहमन्त्री र प्रहरी प्रमुख दुबैजना वक्ताले प्रहरी संगठनको भूमिका, जिम्मेवारी र भविष्यका प्राथमिकता स्पष्ट पारेका थिए।
प्रकाशित मिति: ३१ आश्विन २०८२, शुक्रबार













प्रतिक्रिया