काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणका विषयमा आफूसँग दबाब नदिन आग्रह गरेका छन्।
ललितपुरमा जारी पार्टी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै ओलीले भण्डारीसँग आफ्नो सम्बन्ध पुरानो र घनिष्ठ रहेको बताए।
उनले भने, ‘विद्या भण्डारीको सदस्यता नवीकरणको माग गर्दै कोही पनि यहाँ माइती बनेर आउनु पर्दैन। म उहाँलाई राम्ररी चिन्छु। उहाँ असहज अवस्थामा हुनुहुँदा उपचारको व्यवस्था गर्न म आफैंले पहल गरेको थिएँ।’
ओलीले भण्डारीको कठिन समयमा आर्थिक सहयोगको आश्वासनसमेत दिएको स्मरण गर्दै थपे, ‘त्यो बेला मैले पाँच लाख रूपैयाँ जुटाइदिन्छु भनेको थिएँ। म उहाँको सजिलो होइन, असजिलो अवस्थामा साथ दिने साथी हुँ।’
पूर्वराष्ट्रपतिले चाहेमा पार्टीमा पुनः सक्रिय हुन सक्ने तर त्यसका लागि अरूले दबाब सिर्जना गर्न नहुने ओलीको भनाइ थियो।
बैठकमा करिब ५० जना केन्द्रीय सदस्यहरूले भण्डारीको सदस्यता नवीकरणको माग गरेका थिए। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका शीर्ष नेताहरू पनि उनको सदस्यता पुनःस्थापनाको पक्षमा उभिएका थिए।
प्रकाशित मिति: ३१ आश्विन २०८२, शुक्रबार













प्रतिक्रिया