काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बौद्धिक समुदायका अगुवाहरूसँग भेट गरी सरकार र राजनीतिक दलहरूलाई समयमै निर्वाचन गर्न र जनभावनाअनुरूप शासन सञ्चालन गर्न खबरदारी गर्न आग्रह गरेका छन् ।
शनिबार बिहान शीतलनिवासमा आयोजित छलफलका क्रममा राष्ट्रपतिले बौद्धिक समुदायका ११ जना अगुवालाई आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनलाई सुनिश्चित गर्न र राजनीतिक दलहरूलाई त्यसका लागि सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गर्न आग्रह गरेका हुन् ।
छलफलमा सहभागी राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेका अनुसार, राष्ट्रपतिले सरकारलाई निर्वाचनको तयारीमा ढिलाइ नगर्न र राजनीतिक दलहरूलाई जनभावना र नयाँ पुस्ता—जेनजी पुस्ताको आकांक्षाअनुसार अघि बढ्न खबरदारी गर्नुपर्ने आवश्यकता औंल्याएका थिए । ‘राष्ट्रपतिज्यूको मुख्य सन्देश यही थियो — सरकार र दलहरूलाई खबरदारी गर्नुपर्छ, निर्वाचन तोकिएको मितिमै हुनैपर्छ,’ वाग्लेले बताए ।
राष्ट्रपतिले निर्धारित मितिमा निर्वाचन नभए देश थप संवैधानिक र राजनीतिक संकटतर्फ धकेलिन सक्ने चिन्ता पनि व्यक्त गरेका थिए । बिहान ९ बजेदेखि साढे १० बजेसम्म चलेको छलफलमा सहभागीहरूबीच खुला संवाद भएको थियो ।
छलफलमा सहभागी बौद्धिक अगुवाहरूले हालको परिस्थितिमा राष्ट्रपति संस्थाले लिएको पहलको सराहना गर्दै संविधानको मर्यादाभित्र रहेर आगामी दिनमा पनि राष्ट्रपतिबाट सशक्त र प्रभावकारी भूमिका अपेक्षा गर्ने बताएका थिए ।
राष्ट्रपतिले छलफलका लागि त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा, राजनीतिक विश्लेषकहरू लोकराज बराल, कृष्ण खनाल, गेजा शर्मा वाग्ले, हरि शर्मा, इन्द्र अधिकारी, मुमाराम खनाल, केशव दाहाल, तुलानारायण साह, कसमस विश्वकर्मा र उद्धव प्याकुरेललाई आमन्त्रण गरेका थिए ।
प्रकाशित मिति: १ कार्तिक २०८२, शनिबार












प्रतिक्रिया