काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशभर फैलिएर गएको आतंक र अस्थिरतामाथि ध्यान नदिई सरकारले ‘जेन–जी विद्रोह’ मात्र दोहोर्याइरहेको आरोप लगाएका छन्।
शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले सरकार जनजीवनका वास्तविक समस्याप्रति उदासीन भएको बताएका हुन्।
‘अब सरकारले अरू केही बोल्दैन, जेन–जी विद्रोह मात्र भन्छ,’ उनले भने, ‘देशभर आगलागी, भय र क्षतिको ताण्डव छ, तर त्यसबारे कुनै चासो छैन। सिंगो देश ट्रमाको अवस्थामामा छ, तर त्यसको चर्चा नै हुँदैन।’
ओलीले आफूविरुद्ध नियोजित प्रचार अभियान सञ्चालन भइरहेको आरोप पनि लगाए। ‘मेरो घरको नक्सा, लोकेसन र बाटो देखाएर एआई प्रयोग गरेर आक्रमणको तयारी गरिएको छ,’ उनले भने, ‘घाइते र रगत पुछ्दै गरेको मेरो नक्कली तस्बिर बनाएर प्रचार भइरहेको छ — यो पूर्वतयारी हो। सरकार अहिले पनि मौन रहन्छ?’
उनले देशमा बढ्दै गएको भय, हिंसा र गलत सूचनाका घटनाप्रति सरकारले तत्काल जिम्मेवारीपूर्वक कदम चाल्नुपर्ने आग्रह गरेका छन्।
प्रकाशित मिति: १ कार्तिक २०८२, शनिबार













प्रतिक्रिया