काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशमा अहिले देखिएको शान्ति र स्थायित्व एमालेकै उपस्थितिका कारण सम्भव भएको दाबी गरेका छन्। शनिबार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित चियापान कार्यक्रममा बोल्दै उनले जेन–जी आन्दोलनलाई कारण देखाएर मुलुकको शान्ति–सुव्यवस्थामा खेलबाड गरिएको आरोप लगाए।
‘प्रहरीका १२ सयभन्दा बढी हतियार लुटिएका छन्, एक लाख गोली लुटिएका छन्, के यो खेलौना हो ?’ ओलीले प्रश्न गर्दै भने, ‘अटोमेटिक गन लुटिन्छ, साढे पाँच हजार कैदी अझै फरार छन्, उनीहरूलाई कसले भगायो ? यो के हँुदैछ देशमा ?’
ओलीले हालको राजनीतिक वातावरणमा चुनावको तयारी नाममा नाटक भइरहेको दाबी गरे। उनका अनुसार दलहरूलाई चुनावमा सहभागी हुन नदिने, प्रतिपक्षलाई कमजोर पार्ने र जनतामा भ्रम फैलाउने प्रयास भइरहेको छ। ‘दललाई चुनावमा नलगाई एक्लै चुनाव लड्ने सोच के हो ? यस्तो चुनाव के लोकतान्त्रिक हुन्छ ? जेन–जी आन्दोलनको नाममा प्रधानमन्त्री बन्ने खेल चलिरहेको छ,’ उनले टिप्पणी गरे।
बंगलादेशको उदाहरण दिँदै ओलीले भने, ‘त्यहाँ पनि जेन–जी आन्दोलनको नाममा ७५ वर्षका नेतालाई हटाएर ८५ वर्षकालाई जिम्मा दिइयो। त्यो आन्दोलन अहिले कहाँ छ ?’
उनले आफूलाई मुलुकका जुनसुकै स्थानमा जाने अधिकार भएको स्पष्ट पार्दै भने, ‘मलाई जहाँ जान मन लाग्छ, म त्यहाँ जान्छु। के यो देश मेरो होइन ? कसैले मलाई रोक्न सक्दैन। तर, देशमा जथाभावी गर्न पनि पाइँदैन।’
ओलीले आगामी फागुनमा तय भएको निर्वाचन नहुने दाबी गर्दै संसद् पुनर्स्थापना हुने विश्वास व्यक्त गरे। उनका अनुसार अपराधीहरू पक्राउ नपरेसम्म, लुटिएका हतियार फिर्ता नआएसम्म र जनताको सुरक्षाको प्रत्याभूति नहुँदासम्म निष्पक्ष चुनाव सम्भव छैन। ‘अपराधीहरू फरार छन्, जनतामा असुरक्षा छ,’ उनले भने, ‘सरकारले त्रास सिर्जना गरेको छ, अब जनताले आफ्नै सुरक्षाको तयारी गर्नुपर्ने अवस्था आएको छ।’
अध्यक्ष ओलीले आफूलाई सेनाले सुरक्षा दिएको खुलासा गर्दै प्रहरीमाथि भएका आक्रमणप्रति चिन्ता व्यक्त गरे। ‘प्रहरी हाम्रै हो, त्यसको रक्षा गर्नुपर्छ,’ उनले जोड दिए।
जेन–जी आन्दोलनबारे टिप्पणी गर्दै ओलीले भने, ‘नेपाली झण्डा ओढेर सिंहदरबारमा आगो लगाउने जेन–जी होइन। कसैले उनीहरूको गालामा काँक्रोको बियाँ टाँसिदिएको हो। जसको गालामा टाँसिएको हो, उसलाई होइन, जसले टाँस्यो, उसलाई खोज्नुपर्छ।’
उनले हालको सरकारप्रति प्रहार गर्दै भने, ‘देश सुधार्न चाहनेहरूलाई सुरक्षाविहीन बनाइएको छ, तर जसलाई खतरा छैन, तिनलाई बढी सुरक्षा दिइएको छ। जसले कुरा गर्छ, त्यसको सुरक्षा हटाइन्छ— अनि भन्छन्, हामी लोकतान्त्रिक सरकार हौँ।’
प्रकाशित मिति: १ कार्तिक २०८२, शनिबार













प्रतिक्रिया