विराटनगर । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री सुशीला कार्की देशलाई चुनावतर्फ होइन, दिशाहीन मार्गतर्फ धकेल्दै गरेको आरोप लगाएका छन्। उनले सरकारले जनताको म्यान्डेटअनुसार काम नगरी सत्ता स्वार्थमा लिप्त भएको दाबी गरे।
शनिबार विराटनगरमा आयोजित आजपाको कोशी प्रदेश विस्तारित बैठकलाई सम्बोधन गर्दै साहले सरकारको निष्क्रियताले अधिनायकवादी प्रवृत्तिहरू पुनः सक्रिय बन्दै गएको चेतावनी दिए। “भदौ २३ गतेको जेनजी आन्दोलनका युवामाथिको दमन गर्नेहरू फेरि टाउको उठाइरहेका छन्, कारण यही सरकारको कमजोरी हो, उनले भने।
साहले सरकार चुनाव तयारीमा लाग्नुको सट्टा राजदूत फिर्ता र पुनः नियुक्तिमा केन्द्रित भएको भन्दै आक्रोश व्यक्त गरे।
उनले भने, इलेक्सनको म्यान्डेट पाएको सरकारले अहिले आफ्ना मान्छेहरूलाई राजदूत बनाउन दौडधूप गर्दैछ। प्रधानमन्त्रीजी, तपाईंको ध्यान चुनावमा होस्—राजदूत चयनमा होइन।
साहले भारतका लागि नेपाली राजदूत फिर्ता नबोलाइनुमा प्रश्न उठाउँदै भने, के भारतका लागि नेपाली राजदूतलाई आरजु राणाको आशीर्वादका कारण बचाइँदैछ? अहिले प्रधानमन्त्री कार्की पनि आरजुको खातिरदारीमा लाग्नुभएको हो र?
पूर्वमन्त्री साहले एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव नभाग्ने बहानामा लोकतान्त्रिक प्रक्रियालाई कमजोर पार्ने षड्यन्त्र गरिरहेको आरोप लगाए।
उनले भने, ओलीले आफ्ना अपराध लुकाउन सिङ्गो पार्टीलाई दाउमा लगाएका छन्। जनताको अदालतबाट भाग्ने नेतृत्व कहिल्यै असल हुन सक्दैन।
साहका अनुसार, एकातिर एमाले चुनावमा भाग नलिने भन्छ, तर अर्कातिर निर्वाचन आयोग र शीतलनिवासमा तयारीका बैठकहरूमा सहभागी भइरहेको छ। यस्तो दोहोरो चरित्रले एमालेको विश्वसनीयता घटाउँदै छ, उनले भने।
साहले प्रधानमन्त्री कार्कीको सरकार ओलीकै सिफारिसमा बनेको दाबी गर्दै उनले अहिले आएर त्यसलाई असंवैधानिक भन्न मिल्दैन भने।
प्रधानमन्त्री कार्की बालेन शाहको प्रस्ताव र केपी ओलीको लिखित समर्थनमा बनेकी हुन्। अहिले आएर ओलीले असंवैधानिक भन्नु हास्यास्पद छ, उनले भने। उनले राष्ट्रपतिलाई सम्बोधन गर्दै “ओलीले पठाएको लिखित सिफारिस सार्वजनिक गर्न” आग्रह गरे।
साहले प्रधानमन्त्री कार्की राजनीतिक दलहरूसँग संवाद गर्न तयार नभएको आरोप लगाए।
उनले भने, चुनाव गराउने जिम्मेवारी पाएकी प्रधानमन्त्रीले दलहरूबाट टाढा रहनु ठूलो गल्ती हो। प्रधानमन्त्री आफैं राजनीतिक व्यक्ति हुन्—संवाद नगर्ने अठोट गर्न मिल्दैन।
साहले कार्कीलाई चेतावनी दिँदै भने, शीतलनिवासमा बैठक र छलफलको तमासा बन्द गर्नुस्। बालुवाटारबाटै चुनावी तयारी र दलहरूसँग संवाद अघि बढाउनुहोस्। जनताले अब चुनाव चाहिसकेका छन्, हामी जबरजस्ती गरेर पनि चुनाव गराउनेछौं।
साहका अनुसार सुशीला कार्की नेतृत्वको सरकारले देशलाई निकास दिन सक्ने अवस्था छैन। एक महिनाभन्दा बढी भइसक्दा पनि मन्त्रिपरिषद् पूर्ण हुन सकेको छैन। प्रधानमन्त्री आफैं निर्णायक बन्न सक्नुभएको छैन,उनले टिप्पणी गरे।
साहले देश अहिले गम्भीर राजनीतिक संकटमा फसेको भन्दै सबै दलका इमानदार र क्रान्तिकारी शक्तिहरूबीच सहकार्यको आवश्यकता औँल्याए।
कांग्रेस र एमालेका राम्रा नेताहरू गलत नेतृत्वको पछि सती नजानुहोस्। देशको सार्वभौमसत्ता र स्वाधीनता संकटमा छ, सबै मिलेर यसको सामना गर्नुपर्छ, उनले भने।
गृहमन्त्री ओमप्रकाश अर्याललाई लक्षित गर्दै साहले भने, अदालतमा रिट हाल्ने जस्तो सजिलो कुरा गृह प्रशासन चलाउन हुँदैन। चुनावी वातावरण बनाउन ध्यान दिनुस्, अनावश्यक मिडियाबाजी र म्यानुपुलेसनमा नलाग्नुस्।
उनले सरकारलाई सचेत पार्दै निष्कर्ष निकाले, देशलाई शक्ति राष्ट्रहरूको खेल मैदान बनाउने प्रयास रोक्नुपर्छ। अब जनताले निर्णायक परिवर्तनका लागि तयार भइसकेका छन्।
प्रकाशित मिति: १ कार्तिक २०८२, शनिबार












प्रतिक्रिया