काठमाडौं । ‘जेन–जी’ आन्दोलनपछि कारागार र संवेदनशील संरचनामा तैनाथ गरिएको नेपाली सेना क्रमशः फिर्ता हुन थालेको छ। स्थिति सामान्य बन्दै गएपछि सेनाले ६२ मध्ये ४१ स्थानबाट फौज फिर्ता बोलाएको छ।
गत भदौ २३ र २४ गतेको जेन–जी प्रदर्शनपछि उत्पन्न अस्थिर परिस्थितिमा राजधानीभित्र ५ र बाहिर ५७ गरी जम्मा ६२ स्थानमा सेना परिचालन गरिएको थियो। तीमध्ये अहिले २१ स्थानमा मात्रै सेना अझै सतर्कताका साथ तैनाथ रहेको नेपाली सेनाले जनाएको छ।
सेनाका उपरथी तथा युद्घकार्य महानिर्देशक अनुपजङ्ग थापाका अनुसार, अत्यन्त संवेदनशील र चुनौतीपूर्ण अवस्थामा पनि सेनाले शून्य मानवीय क्षतिको साथ परिस्थितिलाई नियन्त्रणमा ल्याउन सफल भएको छ।
‘केही घण्टाभित्रै देशभर फैलिएको अराजक अवस्था नियन्त्रणमा ल्याएर आवश्यक सेवा–सुविधाको आपूर्ति पुनःस्थापना गरियो,’ थापाले भने, ‘यस क्रममा सेनाले नागरिक सुरक्षालाई सर्वोच्च प्राथमिकता दियो।’
सिंहदरबारमा लागेको आगलागीका बीचमा पनि सेनाको त्वरित हस्तक्षेपका कारण राष्ट्रिय सुरक्षासँग सम्बन्धित रणनीतिक कागजातहरू, रक्षा मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषद्को ‘डाटा सेन्टर’ सुरक्षित राख्न सफल भएको थापाले जानकारी दिए।
सेनाले आपतकालीन ‘हटलाइन’ सञ्चालन गरी आगजनी, चोरी, लुटपाटलगायतका गुनासाको तत्काल सम्बोधन गरेको बताइएको छ। यसले जनतामा सुरक्षाको विश्वसनीयता पुनःस्थापित गर्न मद्दत गरेको सेनाको दाबी छ।
थापाका अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गर्ने उद्देश्यले भेला भएका करिब दुई हजार प्रदर्शनकारीलाई सेना र सुरक्षाकर्मीहरूले रोक्न सफल भएका थिए।
‘भदौ २५ गतेदेखि विमानस्थल पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याइएको थियो,’ उनले भने, ‘त्यस क्रममा फसेका विदेशी नागरिक र कूटनीतिक नियोगहरूका प्रतिनिधिहरूको सुरक्षाको समेत विशेष व्यवस्था गरिएको थियो।’
सेनाले पहिलो चरणमै सिंहदरबारभित्र पसेका प्रदर्शनकारीलाई नियन्त्रणमा लिन सफल भए पनि, ठूलो संख्यामा थपिँदै गएको भीडलाई नियन्त्रण गर्न घातक बल प्रयोग गर्नुपर्ने अवस्था बनेको थियो।
तर मानवीय क्षति हुन नदिन विशेष संयमता अपनाइएको सेनाले स्पष्ट पारेको छ।
प्रकाशित मिति: १ कार्तिक २०८२, शनिबार












प्रतिक्रिया