काठमाडौं । नेपाली राजनीति भ्रष्टहरुको अखडा बनेको भन्दै सुरु भएको युवाहरुको जेन-जी विद्रोहपछि नेपाली राजनीति अब कता मोडिएला भन्ने चासो, चर्चा र चिन्ता सामाजिक संजाल देखि चिया पसलहरुमा बढेको छ।
जेन-जी आन्दोलनमा कसको के स्वार्थ थियो ? हत्या र आगजनी आवश्यकता थियो कि षड्यन्त्र ? यी विषयहरु निकै नै गम्भीर छन्। तर, जेन-जी आन्दोलन कुनै राजनीतिक दलको विरुद्ध थिएन। जेनजी आन्दोलन नेताहरुको भ्रष्ट आचरणको विरुद्ध थियो। विकृति, विसंगति र बेथितिको विरुद्ध थियो। राजनीतिक दल जति नै नयाँ आएपनी आचरण ठिक नभएका नेताहरुको नेतृत्व भए जेन-जी आन्दोलनका सहिदको बलिदानी र घाइतेहरुको सपना कहिल्यै पूरा हुन सक्दैन्।
जेन-जी आन्दोलनको आडमा धमिलो पानीमा माछा मार्न खोज्ने बिचौलिया र स्वार्थसमुहहरुको चलखेल पहिलेको भन्दा निकै नै बढेको छ। मन्त्रीमण्डल गठनमा मात्र होइन, आगामी निर्वाचन र निर्वाचन पछि पुनः कसरी पर्दा पछाडिको साम्राज्यलाई निरन्तरता दिन सकिन्छ भन्नेमा उनिहरु केन्द्रित देखिन्छन्।
राजनितिलाई सबैभन्दा राम्रो व्यवसाय मान्ने नेपाली समाजमा व्यवसायीले राजनीति गर्नु हुँदैन भन्नू गलत हो। तर, व्यवसायीक आचरण नै गलत भएकाहरु राजनीतिमा आउनु झनै गलत हो। भ्रष्टाचार भनेको केवल घुस लिनु वा दिनु मात्र होइन। अधिकारको दुरुपयोग गरी व्यक्तिगत लाभ लिनु, अनुचित रुपमा निर्णय गर्नु, सार्वजनिक सम्पतिको दुरुपयोग गर्नु, काममा बेइमानी वा पक्षपात गर्नु, र जनहित विपरीत आचरण गर्नु पनि भ्रष्टाचार नै हो।
बिहिबार निर्वाचन आयोगमा बुद्ध एयरका मालिक तथा विवादित व्यापारी वीरेन्द्र बहादुर बस्नेतले गतिशील लोकतान्त्रिक पार्टी दर्ता गरेका छन्। पार्टीका पदाधिकारी निर्वाचनमा उम्मेदवार बन्न नपाउने प्रावधान राखेर दर्ता भएको पार्टीमा सदस्य मात्रै रहेका बस्नेतले आगामी निर्वाचनमा सांसद बन्ने लक्ष्य राखेर पार्टी दर्ता गरेको स्रोतको दाबी छ।
तर, तिनै व्यापारी बस्नेतको व्यवसायीक आचरणले मात्र होइन्, पारिवारिक कलहले समेत उनको चरित्र उदाङ्गो बनाइसकेको छ। बुद्ध एयरका संस्थापक तथा वीरेन्द्र बहादुर बस्नेतका पिता सुरेन्द्र बहादुर बस्नेतले बुद्ध एयरको कुल सेयरको ४०% कान्छा छोरा शिवेन्द्र बहादुर बस्नेतलाई र बाँकी ६०% सेयर जेठा छोरा वीरेन्द्र बहादुर बस्नेतको नाममा हुनेगरी गरिदिएका थिए। तर पनि वीरेन्द्र बहादुर बस्नेतले भाइ शिवेन्द्र बस्नेतलाई बुद्ध एयरमा प्रतिबन्ध नै लगाइदिएका छन्। दाईले आफ्नै कम्पनीमा प्रतिबन्ध लगाएपछि बुद्ध एयरका ४०% शेयरधनी भाइ शिवेन्द्रले दाईको मनोमानी विरुद्ध पीडा पोख्ने गरेका छन्।
पैसाका लागी जे पनि गर्न तयार देखिने वीरेन्द्र बहादुर बस्नेत पारिवारिक झमेलाले मात्र होइन, बुद्ध एयरको लापरबाहीका कारण पनि बदनाम बनेका पात्र हुन्। यति मात्रै होइन्, खोजपत्रकारीताको बहानामा ‘उकालो’ नामको एक अनलाइन मिडिया मार्फत ब्ल्याकमेलिङ र बार्गेनिङ गरेर अनुचित लाभ लिनेगरेको समेत आरोप लाग्ने गरेको छ।
वीरेन्द्र बहादुर बस्नेत एक उदाहरणका पात्र मात्र हुन्, जसले जेन-जी आन्दोलनको आडमा राजनीतिमा स्थापित हुने सपना देखिरहेका छन्। यस्ता धेरै व्यक्तिहरु छन्, जो राजनितिको नाममा धमिलो पानीमा माछा मार्न खोजिरहेका छन्।
प्रकाशित मिति: १ कार्तिक २०८२, शनिबार













प्रतिक्रिया