काठमाडौं । पशुपति क्षेत्र विकास कोषको नाममा रहेको ‘विकास’ शब्दलाई परिवर्तन गरी ‘संरक्षण’ र ‘संवर्द्धन’ राख्नुपर्ने सुझाव क्षेत्रका विज्ञहरूले दिएका छन्। उनीहरूको भनाइमा, नाममै संरक्षणको भाव नहुँदा कोषको कार्यप्रणाली पनि संरचना भत्काएर नयाँ बनाउनेतर्फ केन्द्रित हुँदै आएको छ।
धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) ले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा विसं २०४४ सालमा कोषका पहिलो कार्यकारी प्रमुख रहेकाअघि देवीप्रसाद चापागाईंले उक्त धारणा व्यक्त गरे। उनले ‘विकास’ शब्दले पुरातात्विक सम्पदाको जगेर्ना होइन, तोडफोड र पुनर्निर्माणको प्रवृत्ति बढाएको बताए।
उनका अनुसार, मूल मन्दिरअघिको पश्चिम भागमा रहेको ऐतिहासिक आँगमघर सारेर नयाँ संरचना बनाइँदा कोषको मूल सोच नै हराएको छ।
‘यदि नाममै ‘संरक्षण र संवर्द्धन’ जोडिएको भए, ध्यान तोडफोड होइन, जगेर्नातर्फ जाने थियो,’ चापागाईंले भने, ‘म कार्यकारी प्रमुख हुँदा यस्तो अव्यवस्थित निर्माणको अभ्यास थिएन।”
उनले २०४९ सालअघि कोषको संरचना व्यवस्थित रहेको स्मरण गरे। त्यसबेला सञ्चालक परिषद् नीति निर्माण गर्ने र कार्यकारी समिति कार्यान्वयन गर्ने छुट्टाछुट्टै निकाय रहेको बताउँदै, सो प्रणाली भत्किएपछि व्यवस्थापन गडबड भएको उनको टिप्पणी थियो।
चापागाईंले हजारौँ वर्ष पुरानो धार्मिक–सांस्कृतिक सम्पदा पशुपतिनाथलाई द्वादश ज्योतिर्लिङ्गका रूपमा विश्वभर प्रचार गर्न सके नेपालको धार्मिक पर्यटनमा ठूलो फड्को मार्न सकिने बताए।
कार्यक्रममा समाजका अध्यक्ष पूर्णप्रसाद मिश्रले पनि द्वादश ज्योतिर्लिङ्ग दर्शनपश्चात् पशुपतिनाथको दर्शन नगरे मनोकामना पूरा हुँदैन भन्ने धार्मिक आस्थाका कारण विश्वभरका वैदिक सनातन धर्मावलम्बी नेपाल आउन चाहन्छन् तर यहाँको प्रचार, संरचना र व्यवस्थापन पर्याप्त नभएको बताए।
उनका अनुसार, यही उद्देश्यले पशुपति क्षेत्रको भावी दिशा र व्यवस्थापनबारे बहस सुरु गरिएको हो। समाजले यो संवादलाई कोषका पूर्वपदाधिकारी, सरोकारवाला निकाय र विज्ञसम्म विस्तार गर्दै जाने जनाएको छ।
प्रकाशित मिति: १ कार्तिक २०८२, शनिबार












प्रतिक्रिया