काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न राजनीतिक दलहरूसँग संवाद सुरु भएको बताएकी छन्।
आज शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल, गृहमन्त्री र चारै सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा आयोजित बैठकपछि प्रधानमन्त्री कार्कीले निर्वाचन तयारीबारे भएको छलफलको विवरण सार्वजनिक गरिन्।
उनका अनुसार बैठकमा सुरक्षाको समग्र अवस्थादेखि लिएर चुनाव सञ्चालनका तयारीसम्मका विषयमा गम्भीर रूपमा विचार–विमर्श गरिएको थियो।
चारै सुरक्षा निकायका प्रमुखहरूले उच्च मनोबलका साथ निर्वाचनको सुरक्षा सुनिश्चित गर्न तयार रहेको जानकारी दिएका छन्, प्रधानमन्त्री कार्कीले भनिन्।
उनले राजनीतिक तहबाट नै चुनावको वातावरण निर्माणका लागि पहल भइरहेको बताउँदै थपिन्,राजनीतिक दलहरूसँग संवादको सुरुआत भइसकेको छ। फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचन तयारीका हिसाबले सन्तोषजनक अवस्थातर्फ अघि बढ्दैछ।
प्रधानमन्त्री कार्कीले सहज राजनीतिक निकासका लागि सबै पक्षहरू जिम्मेवार र एकताबद्ध भएर निर्वाचन प्रक्रियालाई सफल बनाउन आग्रहसमेत गरिन्।
प्रकाशित मिति: १ कार्तिक २०८२, शनिबार













प्रतिक्रिया