काठमाडौं । इजरायलमा मारिएका विपिन जोशीको पार्थिव शरीर सोमबार नेपाल ल्याइने भएको छ ।
परराष्ट्र मन्त्रालयका स्रोतका अनुसार जोशीको शव फ्लाई दुबईको विमानमार्फत काठमाडौं ल्याइने तयारी गरिएको हो । उक्त विमान दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री, मन्त्रीहरू तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू विमानस्थलमै उपस्थित भई विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्ने तयारी गरिएको छ ।
अध्ययनका क्रममा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी सन् २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा बन्धक बनाइएका थिए । लामो समयसम्म उनको अवस्थाबारे अनिश्चितता रहँदा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु भएको औपचारिक रूपमा पुष्टि गरेका थिए ।
पछिल्लो चरणमा इजरायल र हमासबीच भएको युद्धविराम र बन्दी साटासाटको प्रक्रियामा हमासले इजरायली सेनालाई विपिनको शव हस्तान्तरण गरेको थियो । त्यसपछि गरिएको डीएनए परीक्षणबाट शव विपिनकै भएको प्रमाणित भएको थियो ।
इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरूका अनुसार फरेन्सिक परीक्षणका क्रममा विपिनको हत्या अपहरण भएलगत्तै भएको स्पष्ट भएको छ ।
विपिन जोशीको निधनले केवल उनका परिवार र साथीभाइ मात्र होइन, सम्पूर्ण नेपाली समुदायलाई गहिरो पीडा दिएको छ ।
प्रकाशित मिति: २ कार्तिक २०८२, आइतबार












प्रतिक्रिया