काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कानुनभन्दा माथि नहुने स्पष्ट चेतावनी दिएका छन् ।
सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री अर्यालले ओलीले दिएको ‘मलाई समातेर देखाऊ’ भन्ने चुनौतीको प्रत्युत्तरमा भने, ‘अब कसैलाई पनि कानुनभन्दा माथि बस्ने अधिकार छैन, त्यो समय सकिएको छ ।’
उनका अनुसार ओलीको उक्त अभिव्यक्ति कानुन नमान्ने संकेत हो । ‘केपी ओली मात्र कानुनभन्दा माथि बस्ने ? पहिलाको जस्तो अब हुँदैन,’ उनले भने ।
केही दिनअघि गृहमन्त्री अर्यालले द्वन्द्वकालमा लुटिएका केही हतियार अहिले पनि केही राजनीतिक दलहरूले लुकाएर राखेको हुन सक्ने र ती बुझाउनुपर्ने बताएका थिए । सोही अभिव्यक्तिपछि ओलीले आफूलाई पक्राउ गर्न सरकारलाई खुलेआम चुनौती दिएका थिए । त्यसको प्रत्युत्तरस्वरूप गृहमन्त्री अर्यालले कानुनी शासन सबैका लागि समान हुने दोहोर्याएका हुन् ।
उनले थपे, ‘यदि कुनै राजनीतिक शक्तिले अझै हतियार सुरक्षित राखेको छ भने उनीहरूले अब हिंसाको होइन, शान्ति र अहिंसाको बाटोमा अघि बढ्नुपर्छ भन्ने कुरा आत्मघोषणा गर्नुपर्छ ।’
यसै क्रममा गृहमन्त्री अर्यालले पूर्वमन्त्री दीपक खड्का विदेश भागेको भन्ने आफ्नै अभिव्यक्तिबारे पनि स्पष्ट पारे । उनले भने, ‘मैले अन्तर्वार्ता दिँदाको समयमा उहाँ भारतमा हुनुहुन्थ्यो । अन्तर्वार्ता प्रकाशित भएपछि मात्र उहाँ फर्किनुभयो ।’
उनले जलेको घर देखाउँदै आफू नेपालमै भएको दाबी गर्ने खड्काको व्यवहारलाई ‘पुरानो अवस्थालाई ढाकछोप गर्ने प्रयास’का रूपमा टिप्पणी गरे ।
प्रकाशित मिति: ४ कार्तिक २०८२, मंगलबार













प्रतिक्रिया