हैदराबाद । दक्षिण भारतको आन्ध्र प्रदेश राज्यको कुर्नुल जिल्लामा भएको भीषण बस दुर्घटनामा मृत्यु हुनेको संख्या २५ पुगेको छ । शुक्रबार बिहान मोटरसाइकल बससँग ठोक्किएपछि भएको आगलागीमा परी अन्य धेरै जना घाइते भएका छन् ।
दुर्घटना कुर्नुल नजिकैको राजमार्गमा भएको हो । तेलङ्गानाको हैदराबादबाट कर्नाटकको बेङ्गलुरु जाँदै गरेको यात्रुबाहक बसमा ४४ जना सवार थिए। ठोक्किएपछि केही मिनेटमै बसमा आगो फैलिँदा धेरै यात्रु जलेर मृत्यु भएका हुन् । केही यात्रु भने झ्याल फुटाएर बाहिर निस्कन सफल भएका थिए ।
वरिष्ठ प्रहरी अधिकारी विक्रान्त पाटिलका अनुसार मोटरसाइकल बसको पछाडिबाट ठोक्किँदा उत्पन्न स्पार्क बसको इन्धन ट्याङ्कीमा परेपछि आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ। चालकले आगो नियन्त्रण गर्ने प्रयास गरे पनि सफलता नपाएको बताइएको छ। दुर्घटनाको समयमा अधिकांश यात्रु सुतिरहेका थिए।
घटनास्थलमा फरेन्सिक टोलीले अनुसन्धान जारी राखेको छ। अधिकारीहरूका अनुसार दुर्घटनामा मोटरसाइकल चालकको समेत मृत्यु भएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदी र आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन्।
यो दुई साताभित्र भारतमा भएको दोस्रो घातक बस आगलागी हो। यसअघि राजस्थानमा सर्ट सर्किटका कारण यात्रुबसमा लागेको आगोमा कम्तीमा २० जनाले ज्यान गुमाएका थिए।
प्रकाशित मिति: ७ कार्तिक २०८२, शुक्रबार













प्रतिक्रिया