तनहुँ । भाइटिकाको दिन तनहुँ जिल्लाका विभिन्न स्थानमा भएका आठ छुट्टाछुट्टै सवारी दुर्घटनामा २५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार यी दुर्घटनाहरू बिहीबार राति र शुक्रबार दिउँसो विभिन्न समयमा भएका हुन् ।

प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार पृथ्वी राजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा भएको बस दुर्घटनामा मात्रै १२ जना घाइते भएका छन् । थर्पुबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ९३०१ नम्बरको बस सडकबाट अनियन्त्रित भएर दुर्घटनाग्रस्त भएको हो ।

advertisement

घाइते हुनेहरूमा पोखरा महानगर–३२ का ४० वर्षीय रमेश आचार्य, म्याग्दे गाउँपालिका–१ का ६७ वर्षीय रनबहादुर थापा, मोतीबहादुर थापा, ९० वर्षीय पशुपतिनाथ घिमिरे, २२ वर्षीया अस्मिता शाही, ६९ वर्षीय पदमबहादुर दर्लामी, ऋषिङ गाउँपालिका–२ का ५० वर्षीय नरबहादुर माकिम, घिरिङ गाउँपालिका–३ का ५२ वर्षीय ऋषिराम थापा, १५ वर्षीया कञ्चन थापा, ४६ वर्षीय देउबहादुर थापा, २७ वर्षीया सुमित्रा थापा र चितवन भरतपुर–१ की ५० वर्षीया सूर्यकला आचार्य रहेका छन् । उनीहरूको उपचार दमौलीस्थित प्रदेश अस्पतालमा भइरहेको छ ।

त्यस्तै, व्यास नगरपालिका–१२ छिर्कनेमा गएराति ग ५ प ७९०७ नम्बरको मोटरसाइकल दुर्घटनामा परेर आँबुखैरेनी गाउँपालिका–४ का ३३ वर्षीय आशिष गुरुङ घाइते भएका छन् ।

शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा सिन्धुपाल्चोक बारबिसे–६ का २८ वर्षीय सुनिल श्रेष्ठ र सवार २८ वर्षीय कमल श्रेष्ठ घाइते भएका छन् । दुबैको उपचार जिपी कोइराला श्वासप्रश्वास केन्द्रमा भइरहेको छ ।

आँबुखैरेनी गाउँपालिका–१ बरादीमा ग २१ प ३०७६ नम्बरको स्कुटर पोलमा ठोक्किँदा स्कुटर चालक गोरखा नगरपालिका–४ का २६ वर्षीय राजकुमार दरै र ६० वर्षीया सुकमाया दरै घाइते भएका छन् ।

शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा पोखराबाट दमौली आउँदै गरेको ग २ च ७९७१ नम्बरको कारको ठक्करबाट ३० वर्षीया अप्सरा श्रेष्ठ र ११ वर्षीय समिर श्रेष्ठ घाइते भएका छन् ।

त्यसैगरी, आँबुखैरेनी गाउँपालिका–१ एक्लेफाँटमा मोटरसाइकलको ठक्करबाट ३५ वर्षीय पैदलयात्री प्रेम परियार, भीमाद नगरपालिका–५ ऋषिङपाटनमा मोटरसाइकल दुर्घटनामा २५ वर्षीय अमृत परियार, र बन्दीपुर गाउँपालिका–१ पिप्लेमा स्कुटर दुर्घटनामा ३४ वर्षीय सुरेशकुमार राई र ३० वर्षीया सोनाम थापा घाइते भएका छन् ।

सभी घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रकाशित मिति: ७ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com