काठमाडौं । काठमाडौं महानगरपालिकाले यस वर्षको छठ पर्वलाई व्यवस्थित र सुरक्षित रूपमा मनाउन महानगरभित्र आठ स्थान तोकेको छ।
शनिबार पत्रकार सम्मेलन गर्दै काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले कमलपोखरी, गौरीघाट, बोक्सीदह, बागमती दोभन, टंकेश्वर, बल्खुस्थित कुमारी क्लब अगाडि, कुलेश्वर भलिबल मैदान र रामघाटलाई छठ पर्व मनाउने लागि औपचारिक स्थलका रूपमा तोकिएको जानकारी दिए।
उनका अनुसार महानगरले यी स्थलहरूमा सरसफाइ अभियान सुरु गरिसकेको छ। सरसफाइका लागि ३०० भन्दा बढी सरसफाइकर्मी परिचालन गरिएको र आवश्यक सबै तयारी अन्तिम चरणमा पुगेको उनले बताए। पाण्डेले भने, ‘छठ पर्वलाई व्यवस्थित, स्वच्छ र अवरोधविहीन बनाउन कुनै कमी हुने छैन।’
महानगरले छठ पर्वको नाममा ताल, पोखरी वा अन्य स्थलमा पैसा उठाउने कार्य कडाइका साथ निषेध गरेको छ। ‘कसैले शुल्क लिन खोजेमा तुरुन्त जानकारी दिनुहोस्,’ पाण्डेले आग्रह गरे। साथै, तोकिएका स्थल वरपर सवारी पार्किङ नगर्न पनि अनुरोध गरिएको छ।
यस वर्ष कार्तिक १० गते छठ पर्व मनाइँदैछ, र काठमाडौँ महानगरले श्रद्धालुहरूका सहजता र सुरक्षाका लागि सबै आवश्यक पूर्वतयारी पूरा गरिसकेको जनाएको छ।
प्रकाशित मिति: ८ कार्तिक २०८२, शनिबार













प्रतिक्रिया