वीरगञ्ज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले गृहमन्त्री ओमप्रकाश अर्यालको भूमिका शंकास्पद र विवादास्पद भएको भन्दै उनको तत्काल राजीनामा माग गरेका छन्। उनले सरकारमाथि जेन–जी आन्दोलनका क्रममा युवाहरूको हत्यामा संलग्न व्यक्तिहरूलाई जोगाउने प्रयास गरेको गम्भीर आरोप समेत लगाएका छन्।

शनिबार पर्सागढीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष साहले भने, ‘भदौ २३ गतेका दिन युवामाथि नरसंहार भयो। छाती र टाउकोमा सिधा गोली प्रहार गरियो। तर, आजसम्म हत्याराहरू पक्राउ परेका छैनन्। यस्तो लाचार गृह मन्त्रालयको अब कुनै औचित्य छैन, गृहमन्त्री नै असक्षम छन्।’

advertisement

साहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसहितका जिम्मेवार व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउन अहिलेका गृहमन्त्री अर्यालले कुनै पहल नगरेको आरोप लगाए। ‘अर्याल पहिले एमालेका कार्यकर्ता भएकै कारण ओलीजस्ता नेताहरूलाई कारबाही गर्न डराएका छन्,’ उनले भने।

उनका अनुसार सरकारले पीडित युवाका परिवारलाई न्याय दिनुको सट्टा उल्टै आन्दोलनमा सहभागी युवामाथि झुटा मुद्दा लगाएको छ। ‘प्रहरी प्रशासनले हत्यारालाई होइन, आवाज उठाउने युवालाई समातिरहेको छ। एमालेका कार्यकर्ताले बालेन शाह र सुदन गुरुङविरुद्ध दिएको जाहेरी तुरुन्तै किन लिइयो? यो नै प्रमाण हो कि सरकार पक्षपाती छ,’ साहले आरोप लगाए।

प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री अर्यालले जेन–जी पुस्ताको भावनासँग खेलवाड गरेको भन्दै उनले भने, ‘युवाको हत्यामा संलग्न, भ्रष्ट र षड्यन्त्रकारीहरूलाई कारबाही नगरी मुद्दा मुल्तवीमा राख्नु देशकै दुर्भाग्य हो।’

साहले यस्तो सरकार अब जनतामाथि शासन गर्न योग्य नरहेको दाबी गर्दै तत्काल मार्गप्रशस्त गर्न आग्रह गरे। उनले चेतावनी दिँदै भने, ‘यदि सरकारले हत्यारालाई कारबाही गरेन भने जनताले आफैं उनीहरूलाई घरबाट निकालेर जनकारबाही गर्नेछन्।’

कार्यक्रममा उनले वीरगञ्जलाई आर्थिक राजधानीका रूपमा विकास गर्ने, नारायणी अस्पताललाई मेडिकल कलेजमा रूपान्तरण गर्ने र ठाकुरराम क्याम्पसलाई विश्वविद्यालय बनाउनेजस्ता काममा विगतका सरकारले बेवास्ता गरेको भन्दै स्थानीय जनताले लामो समयदेखि कष्ट भोगिरहेको पनि बताए।

प्रकाशित मिति: ८ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com