काठमाडौं । जेन–जी युनाइटेड समूहले शान्तिपूर्ण आन्दोलनमा सहभागी कार्यकर्तामाथि सरकारले गरेको धरपकडप्रति कडा आपत्ति जनाएको छ। शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत समूहका अगुवाहरूले सरकारले एकीकरणको प्रयास नै अवरुद्ध गर्न खोजेको आरोप लगाएका हुन्।

जेन–जी युनाइटेडका संयोजक सागर तामाङले सरकारले आन्दोलनमा सहभागी युवाहरूमाथि अन्यायपूर्ण रूपमा कारबाही गरेको आरोप लगाए। उनले भने, “हामीलाई एकीकृत हुन नदिई पक्राउ गरिँदैछ। सरकारले विना शर्त सबै प्रदर्शनकारीलाई तुरुन्त रिहा गर्नुपर्छ। हाम्रो माग पूरा नभएसम्म आन्दोलन जारी रहनेछ।”

advertisement

तामाङका अनुसार ‘जेन–जी युनिफिकेशन क्याम्पेन’ पूर्ण नहुँदासम्म समूहले चरणबद्ध रूपमा दबाब कार्यक्रम सञ्चालन गर्नेछ। “सरकारले हाम्रो आवाज दवाउने प्रयास गरे पनि हामी पछि हट्दैनौं,” उनले चेतावनी दिए।

अर्की नेतृ मन्जना राईले जेन–जी आन्दोलनबाटै बनेको सरकारले अहिले त्यही आन्दोलनको आत्मालाई कमजोर पार्ने काम गरिरहेको आरोप लगाइन्। “हाम्रै साथीहरूलाई हाम्रै अगाडि लछारपछार गरेर लगिँदैछ। यो सरकार जेन–जीको नाममा बनेको हो, तर अब जेन–जीलाई टुक्र्याउने अभियानमा लागेको छ,” उनले आक्रोश व्यक्त गरिन्।

आन्दोलनका घाइते सहभागी भूपेन्द्र खड्काले सरकारप्रति गुनासो गर्दै भने, “घाइते र शहीदको बलिदानबाट बनेको सरकारले आज त्यही आन्दोलनकारीमाथि दमन गरिरहेको छ। हामीको शान्तिपूर्ण आवाजलाई बल प्रयोग गरेर रोक्न खोज्नु लोकतन्त्रविरुद्धको कदम हो।”

समूहका नेताहरूले आइतबार पनि शान्तिपूर्ण विरोध कार्यक्रम सञ्चालन गर्ने र यदि फेरि धरपकड जारी रह्यो भने पर्सीबाट देशव्यापी आन्दोलनको नयाँ रणनीति घोषणा गर्ने चेतावनी दिएका छन्।

प्रकाशित मिति: ८ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com