काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले वार्ताका लागि सरकारको आह्वानलाई सकारात्मक रूपमा स्वागत गरेका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै प्रसाईंले जनताको आवाज सुन्ने उद्देश्यले वार्ताको पहल गरेकोमा सरकारको कदम सराहनीय रहेको बताए।

advertisement

‘यदि सरकारले आधिकारिक रूपमा वार्ताका लागि बोलाएको हो भने हामी यसको स्वागत गर्छौं,’ प्रसाईंले लेखेका छन्, ‘जनताको माग र आवाज सुन्ने यो जिम्मेवार प्रयास ओली सरकारले कहिल्यै देखाउन नसकेको हो। अहिलेको सरकारले त्यो जिम्मेवारी बोध गरेको देखिन्छ भन्ने हाम्रो मूल्यांकन छ।’

उनले वार्ताको उद्देश्य केवल छलफलमा सीमित नहुने र राष्ट्र तथा नागरिकको हित सुनिश्चित गर्ने परिणाममुखी समाधानमा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याए। ‘वार्ता गर्न बोलाउने मात्र होइन, देश र नागरिकको हित जोगाउने ठोस नतिजा देशले अब चाहेको छ,’ उनले लेखे।

यसअघि शनिबार गृहमन्त्री ओमप्रकाश अर्यालले सडक प्रदर्शनको तयारीमा रहेका राजनीतिक समूहहरूलाई सुरक्षा संवेदनशीलता ध्यानमा राख्दै आन्दोलनमा नगई संवादमार्फत आफ्ना माग प्रस्तुत गर्न आग्रह गरेका थिए।

१५ कात्तिकपछि प्रसाईं समूहले घोषणा गरेको आन्दोलन र त्यससँग सम्बन्धित सुरक्षा चुनौतीका विषयमा सुरक्षा निकायका प्रमुखहरूले सरकारलाई विस्तृत जानकारी गराएपछि गृहमन्त्री अर्यालले यस्तो अपिल गरेका हुन्।

शनिबार बिहान प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री अर्याल र गृहसचिव रामेश्वर दंगालले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूसँग मुलुकको सुरक्षा स्थिति विषयक बैठकसमेत गरेका थिए।

सरकारले देशको सुरक्षा अवस्था संवेदनशील रहेको उल्लेख गर्दै सबै राजनीतिक पक्षलाई सडक प्रदर्शनबाट टाढा रहँदै संवाद र सहकार्यको बाटो अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com