काठमाडौं । मन्त्रिपरिषद् विस्तारअन्तर्गत आज चार जना नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्। शपथग्रहण समारोह आज दिउँसो साढे २ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुने तयारी गरिएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य तथा जनसंख्या, श्रम तथा रोजगार, युवा तथा खेलकुद र भूमिसुधार मन्त्रालयका लागि चार जना नयाँ मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा पठाइसकेकी छन्। ती हुन् — डा. सुधा शर्मा गौतम, गणपतिलाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता।
सरकारका अनुसार डा. गौतमलाई स्वास्थ्य तथा जनसंख्या, खगेन्द्र सुनारलाई श्रम तथा रोजगार, बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइनेछ। सुरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि प्रस्ताव गरिएका गणपतिलाल श्रेष्ठलाई अन्ततः भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।
मन्त्री बन्न लागेकाहरूका प्रोफाइल
डा. सुधा शर्मा गौतम
डा. शर्मा पूर्व स्वास्थ्य सचिव तथा स्त्रीरोग विशेषज्ञ हुन्। उनी प्रशासक, चिकित्सक र लेखकको रूपमा परिचित छिन्। उनले ‘सिंहदरबारको घुम्ने मेच’ र ‘अप्रमेय’ पुस्तकमार्फत प्रशासनिक अनुभव र व्यक्तिगत दृष्टिकोणलाई सार्वजनिक गरेकी छन्। स्वास्थ्य मन्त्रालयमा अतिरिक्त सचिव संगीता कौशल मिश्राको नाम चर्चामा रहे पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि भ्रष्टाचारको मुद्दा दायर गरेपछि प्रधानमन्त्री कार्कीले अन्ततः डा. शर्मालाई रोजेकी हुन्।
गणपतिलाल श्रेष्ठ
श्रेष्ठ प्रसिद्ध सम्पदा संरक्षण अभियन्ता हुन्। उनले रानीपोखरी, बसन्तपुर दरबार क्षेत्र लगायतका ऐतिहासिक सम्पदाको संरक्षणमा अग्रणी भूमिका खेलेका छन्। उनले नेपाली सम्पदाको पुनर्निर्माणबारे अक्सफोर्ड विश्वविद्यालयमा समेत आफ्नो प्रस्तुति दिएका थिए।
खगेन्द्र सुनार
दलित अधिकारकर्मीका रूपमा परिचित सुनारले नेपालको सामाजिक न्याय र समानताका लागि लामो समयदेखि आवाज उठाउँदै आएका छन्। उनले संवैधानिक निकाय र राजनीतिक नियुक्तिमा दलित प्रतिनिधित्व सुनिश्चित गर्न काठमाडौंमा प्रतीकात्मक रूपमा नेल ठोकेर प्रदर्शन गरेका थिए। रुकुम पश्चिममा नवराज विकसहित ६ जनाको हत्या प्रकरणपछि उनले न्यायका लागि १० दिनसम्म जिल्ला अदालतको गेटमा अनशनसमेत बसेका थिए।
बब्लु गुप्ता
गुप्ता सामाजिक अभियन्ताका रूपमा परिचित छन्। कोभिड महामारीका कठिन दिनमा उनले ‘नि:शुल्क खाना अभियान’ सञ्चालन गरेका थिए। त्यसअघि उनले विपन्न र असहाय नागरिकका लागि ‘कपडा बैंक’ स्थापनासमेत गरेका थिए। ‘हन्ड्रेड ग्रुप’ नामक संस्थामार्फत विद्यार्थीलाई शिक्षा सहयोग गर्दै आएका गुप्ता रगत संकलन तथा उपचार सहयोग अभियन्ता पनि हुन्।
आजको शपथपछि प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् पूर्णता तर्फ अघि बढ्ने छ। नयाँ मन्त्रीहरूले सोमबारदेखि नै आफ्नो जिम्मेवारी सम्हाल्ने तयारी गरेका छन्।
प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार













प्रतिक्रिया