काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंले नेपाललाई विदेशी शक्तिको ‘ग्रान्ड डिजाइन’ अन्तर्गत योजनाबद्ध रूपमा कमजोर बनाइएको आरोप लगाएका छन्। आइतबार राजधानीमा आयोजित सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै उनले आफ्नो अभियान बैंकको ब्याज नतिर्ने बहाना नभई देशलाई लुटतन्त्रबाट मुक्त गर्ने प्रयास भएको स्पष्ट पारे।
प्रसाईंले आफूलाई ‘पढेको होइन, भोगेको र बुझेको’ व्यक्ति बताउँदै एक रुपैयाँबाट सुरु गरेको व्यवसायिक यात्राले उनलाई सफल उद्यमी बनाएको उल्लेख गरे। ‘मलाई बैंकको ब्याज नतिर्ने भनेर बदनाम गरियो, तर आज म प्रमाणसहित भन्न चाहन्छु — म नेपालका सफल र नियमित कर तिर्ने व्यवसायीमध्ये एक हुँ,’ उनले भने। ‘म कर्जा सूचना केन्द्रको कालोसूचीमा छैन, र मेरो विवरण २०८२ सालसम्म स्पष्ट छ।’
उनका अनुसार उनको लगानीमा सञ्चालनमा रहेको बीएण्डसी मेडिकल कलेजले कोशी प्रदेशमा सबैभन्दा बढी विद्युत् खपत गर्ने र नियमित महसुल तिर्ने संस्थाको रूपमा सम्मान पाएको छ। ‘म प्रहरी हिरासतमा हुँदा पनि मेरो संस्थाले उत्कृष्ट उपभोक्ताको सम्मान प्राप्त गर्यो,’ उनले जोड दिए।
प्रसाईंले आफ्नो असन्तोष केही सीमित व्यापारी र स्वार्थी समूहतर्फ मात्र केन्द्रित भएको बताए। उनले भने, ‘देशमा ४१ हजार मारवाडी परिवार छन्, मेरो विरोध सबैप्रति होइन। तर बर्माबाट लखेटिएका १६ परिवार अहिले नेपाललाई आर्थिक रूपमा नाङ्गो बनाउने प्रयासमा छन्।’
उनका अनुसार, राज्यले इमानदार कर तिर्ने व्यवसायीलाई बेवास्ता गरेर अनियमित व्यापारीलाई संरक्षण गर्दै आएको छ। ‘केही मारवाडी व्यापारीहरू बिजुली बालेर पनि पैसा नतिर्ने गर्छन्, तर हामीले नियमित महसुल तिरेर पनि अपहेलनाको सामना गर्नुपरेको छ,’ उनले गुनासो गरे।
प्रसाईंले आफ्नो आन्दोलनको मुख्य लक्ष्य बैंक तथा वित्तीय संस्थाहरूको अत्यधिक ब्याजदरविरुद्ध रहेको दोहोर्याए। ‘बैंकहरूले कागजमा ७ प्रतिशत ब्याज लेखाउँछन् तर व्यवहारमा १६–१७ प्रतिशत असुल्छन्,’ उनले भने, ‘यसैका कारण देशभरका व्यापारी, डाक्टर, पत्रकार र आम नागरिक ऋणको जालोमा फसेका छन्।’ उनका अनुसार, आफ्नो आन्दोलनपछि ब्याजदर ६ प्रतिशतसम्म झरेको र त्यसको लाभ सम्पूर्ण जनताले पाएको छ।
देशमा राजसंस्था र हिन्दू राष्ट्रको अन्त्य पनि विदेशी शक्तिको ‘ग्रान्ड डिजाइन’ अन्तर्गत भएको दाबी गर्दै उनले भने, ‘गिरिजाप्रसाद कोइरालाले किन बारम्बार ‘ग्रान्ड डिजाइन’ भन्दै चेतावनी दिन्थे भन्ने कुरा अहिले स्पष्ट भएको छ।’ सिंहदरबार र सर्वोच्च अदालतमा भएका आगलागीलाई उनले ‘व्यवस्थाको अन्त्यको संकेत’का रूपमा व्याख्या गरे।
प्रसाईंले हालैको ‘जेनजी आन्दोलन’मा सहभागी हुन खोज्दा रोकिएको प्रसंग पनि सुनाए। उनले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहप्रति आभार व्यक्त गर्दै भने, ‘उहाँले मलाई बचाउनुभयो, नत्र म अहिले थुनामा हुने थिएँ।’ तर सिंहदरबारमा आगलागी हुँदा दमकल पठाउनुभन्दा आन्दोलनकारीलाई पानी बाँडेको भन्दै उनले बालेनको टोलीमाथि आलोचना पनि गरे।
उनले अन्त्यमा भने, ‘यो देशलाई विदेशी शक्तिको खेल र भित्री स्वार्थीहरूबाट मुक्त गर्न अब जनताको जागरण अपरिहार्य भइसकेको छ।’
प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार













प्रतिक्रिया