चितवन । जिल्ला कारागार चितवनबाट फरार भएका कैदीबन्दीमध्ये १३९ जना अझै पक्राउ परेका छैनन्। फरारमध्ये ११ जना भारतीय नागरिक र दुई बालबालिकासमेत रहेका छन्।
गत भदौ २५ गते आएको बाढीका कारण सुरक्षाकर्मीले नियन्त्रण गुमाउँदा सो कारागारबाट ७४३ कैदीबन्दी भागेका थिए। तीमध्ये हालसम्म ५९१ जना स्वेच्छाले कारागार फर्किएका छन् भने नौ जनालाई अन्य कारागारमा पठाइएको जिल्ला कारागार कार्यालयका प्रमुख रविन्द्रप्रसाद ढुंगानाले जानकारी दिए।
उनका अनुसार सम्पर्कमा आइसकेका केही कैदी पछिल्लो समयमा पुनः सम्पर्कविहीन भएका छन्। ‘सम्पर्कविहीन भएकाहरूको ठेगानासहित सम्बन्धित प्रहरी इकाइलाई पत्राचार गरिएको छ,’ ढुंगानाले बताए।
फरारमध्ये धेरैजसो लागुऔषध अपराध र जबरजस्ती करणी मुद्दामा सजाय काटिरहेका थिए। तिनै मध्ये दुर्लभ एकसिँगे गैँडा सिकार प्रकरणमा संलग्न एक कैदी पनि रहेको ढुंगानाले जानकारी दिए।
कारागारले असोज २० गतेसम्म स्वेच्छाले फर्किन आग्रह गर्दै सूचना जारी गरेको थियो। तोकिएको म्यादभित्र नफर्किने कैदीमाथि कारागार ऐन २०७९ र अन्य प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी दिइएको छ। त्यस्तै, फरारलाई लुकाउने वा आश्रय दिने व्यक्तिलाई पनि कानुनी दायरामा ल्याइने कारागारले जनाएको छ।
फरारमध्ये केही नवलपरासी (बर्दघाट–सुस्ता) पूर्व र अन्य जिल्लाका रहेका छन्। हालसम्म फर्किएका ६२ जनालाई प्रहरी विभिन्न स्थानबाट पक्राउ गरी कारागारमा बुझाइसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले बताए।
‘फरार कैदीबन्दी पक्राउ गर्न सबै नागरिकको साथ र सहयोग आवश्यक छ,’ एसपी पुरीले भने।
प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार













प्रतिक्रिया