ओखलढुङ्गा । ओखलढुङ्गाकाे सेप्ली झरना जाने झोलुङ्गे पुलमा माथिबाट खसेको ढुङ्गाले क्षति पुर्‍याउँदा पर्यटक तथा सर्वसाधारणलाई आवागमनमा सास्ती भएको छ । तीन महिनाअघि माथिबाट खसेको ढुङ्गाले पुलको बीच भागमा क्षति पुर्‍याएको थियो । उक्त पुल मर्मत नहुँदा चाडपर्वका बेलामा झरना हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकका साथै सर्वसाधरणलाई आवतजावतमा समस्या भएको हो ।

दसैँ, दीपावलीलगायत पर्व मनाउन गाउँ फर्किएका अधिकांश मोलुङ गाउँपालिका-८ स्थित सुन्दर पर्यटकीयस्थल सेप्ली झरना घुम्न आउने गर्दछन् । अन्य समयमा छिटफुट मानिस आउने गरे पनि चाडपर्वको समयमा यहाँ आउने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्य हुने स्थानीय बताउँछन् ।

advertisement

पर्यटकीय पूर्वाधार विकास योजनाअनुसार झरनालाई नजिकबाट नियाल्न गत वर्ष निर्माण गरिएको पुल यसै वर्ष क्षति भएपछि समस्या भएको स्थानीय दीपक राईले बताए । लामो समय मर्मत नगरिँदा जोखिम बढेको भन्दै उनले बालबालिका र वृद्धवृद्धा खोला पार गर्न नसक्ने हुँदा क्षतिग्रस्त पुलबाट जोखिम मोलेर वारपार गर्नुपरेको उल्लेख गरे ।

मोलुङ-८ की आशा राईले यस वर्ष पुल क्षतिग्रस्त भएपछि उक्त क्षेत्रमा यात्रा गर्न जोखिमपूर्ण रहेको भन्ने सूचना प्रवाह हुँदा विगतको तुलनामा सेप्ली आउने पर्यटकको सङ्ख्या घटेको बताए । नजिकैसम्म यतायातको पहुँच भए पनि वर्षामा अवरुद्ध भएको सडक स्तरोन्नति नगरिँदा सवारीमा सेप्ली जाने पर्यटकलाई समस्या हुने गरेको उनको भनाइ छ ।

झोलुङ्गे पुलमा परेको प्वालका कारण जोखिम बढिरहेको अवस्थामा तत्काल मर्मत नगरिएको भन्दै स्थानीयले जनप्रतिनिधिको आलोचना गरिरहेका छन् । मोलुङ-८ का वडाध्यक्ष सुधीर राईले वर्षायाममा सडक अवरुद्ध भएको बताउँदै मर्मतका लागि आवश्यक सामग्री पुलसम्म पुर्याउन नसक्दा काम अघि बढ्न नसकेको जनाए । केही दिनमा सडक सञ्चालन भएपछि पुल मर्मत सुरु गर्ने तयारी भइरहेको उनले उल्लेख गरे ।

सुन्दर र आकर्षक भएकाले सेप्ली झरना जिल्लाको एक आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । मोलुङ गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्य भए पनि आवश्यक पूर्वाधार विकास र प्रचारप्रसार हुन नसक्दा सेप्ली ओझेलमा छ । ओखलढुङ्गाका पोकली, रातमाटे र सेप्लीलगायत चर्चित झरनामा असोज, कात्तिकको समयमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।

प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com