काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्र फेरि एकपटक नेतृत्व विवाद तीव्र बनेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ संस्थापक नेताहरूबाटै घेरिएकी छन् ।

पार्टीका १६ जना संस्थापक केन्द्रीय सदस्यले रञ्जितालाई हटाई रामलाल डगौरा चौधरीलाई नयाँ अध्यक्ष बनाउने निर्णय गर्दै उक्त प्रस्ताव निर्वाचन आयोगमा दर्ता गराएका छन् । आयोगमा दर्ता गरिएको पत्रमा डगौरालाई अध्यक्ष, विना चौधरीलाई उपाध्यक्ष र गंगाराम चौधरीलाई महासचिव बनाइएको उल्लेख छ । बाँकी सबै सदस्यको रूपमा रहने व्यवस्था गरिएको छ ।

advertisement

२०७८ पुस १९ गते स्थापना भएको यस पार्टीमा २१ जना संस्थापक सदस्य थिए । तीमध्ये तीन जना पहिले नै पार्टीबाट बाहिरिसकेका छन् । बाँकी १८ मध्ये १६ जनाले नयाँ नेतृत्वको पक्षमा हस्ताक्षर गरेका हुन् ।

तर, नयाँ अध्यक्षको रूपमा नाम आएका रामलाल डगौराले भने आफूलाई यसबारे जानकारी नै नभएको बताएका छन् । ‘मलाई अहिलेसम्म आधिकारिक रूपमा केही भनिएको छैन, बुझेर मात्रै भन्न सक्छु,’ उनले संक्षिप्त प्रतिक्रिया दिए ।

यसबीच निर्वाचन आयोगले पनि रञ्जिता श्रेष्ठलाई पदमुक्त गरी नयाँ नेतृत्व बनाउने मागसहितको निवेदन प्राप्त भएको पुष्टि गरेको छ । आयोगको कानुन शाखाका अधिकृत विष्णुप्रसाद पौडेलले भने, ‘निवेदन आएको छ, अहिले विधान र कानुनअनुसार त्यसको अध्ययन भइरहेको छ।’ हस्ताक्षरको संख्या र विवरणबारे भने उनले खुलाएनन् ।

यसअघि पनि गत साउन १४ गते नाउपाको राष्ट्रिय भेलाले रञ्जितालाई अध्यक्षबाट हटाएर लालवीर चौधरीलाई अध्यक्ष बनाएको थियो । तर, आयोगले उक्त निर्णयलाई अमान्य ठहर गर्दै लालवीरलाई अध्यक्षको रूपमा मान्यता दिन अस्वीकार गरेको थियो । आयोगको पत्रमा लालवीर चौधरी संस्थापक सदस्य नभएकाले उनले बोलाएको भेला विधानविपरीत भएको स्पष्ट गरिएको थियो ।

पार्टीका संरक्षक रेशम चौधरीले पनि भदौ २९ गते रञ्जितासँगको सहकार्य तोड्दै नयाँ दल “नागरिक उन्मुक्ति पार्टी नेपाल” दर्ता गर्ने तयारीमा लागेका छन् ।

अब आयोगले संस्थापक सदस्यहरूको हस्ताक्षरसहित आएको नयाँ प्रस्ताव वैधानिक छ वा छैन भन्ने विषयमा निर्णय गर्नुपर्नेछ । त्यसपछि मात्रै रञ्जिता श्रेष्ठको नेतृत्व टिका रहने कि डगौराको अध्यक्षतामा नयाँ अध्याय सुरु हुने भन्ने स्पष्ट हुनेछ ।

प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com