काठमाडौं । भदौ २३ र २४ गते देशभर चलेको ‘जेनजी आन्दोलन’पछि पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भएलगत्तै सुशासन, पारदर्शिता र भ्रष्टाचारविरोधी छविको दाबी गरिएको थियो। तर, गठन भएको ४६ दिन बितिसक्दा पनि प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक नगरेपछि सरकारको छविमाथि प्रश्न उठ्न थालेको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० अनुसार सार्वजनिक पदमा बसेको व्यक्तिले आफूसँग वा परिवारका सदस्यसँग रहेको सम्पत्ति विवरण तोकिएको निकायमा बुझाउन र नेपाल राजपत्रमार्फत सार्वजनिक गर्नुपर्ने स्पष्ट व्यवस्था छ। २०७५ असार २० मा प्रकाशित राजपत्रमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि सहायकमन्त्रीसम्म सबैले आफ्नो सम्पत्ति विवरण सम्बन्धित कार्यालयमा बुझाउनुपर्ने उल्लेख गरिएको छ।

advertisement

यसैबीच प्रधानमन्त्री कार्यालयका एक पूर्वसचिवले कानुनी रूपमा अझै समय बाँकी भए पनि सरकारको नैतिक धरातल बलियो बनाउन यति संवेदनशील विषयमा ढिलाइ गर्नु सरकारको घोषणासँग मेल नखाने टिप्पणी गरेका छन्।

‘सुशासन र पारदर्शिताको सरकार भन्ने, तर सम्पत्ति विवरण सार्वजनिक गर्न अन्तिम समयसीमा कुर्ने ? यसले भोलि जनतामा के सन्देश दिन्छ ?’ उनले प्रश्न गरे।

उनका अनुसार, आन्दोलनको जगमा बनेको सरकारले नैतिक पहलकदमीका रूपमा तत्काल सम्पत्ति विवरण सार्वजनिक गरेर उदाहरण प्रस्तुत गर्नुपर्ने थियो। ‘यदि यही सरकारले पनि अघिल्ला जस्तै ढिलासुस्ती गर्‍यो भने भिन्नताको दाबी खोक्रो सावित हुन सक्छ,’ उनले भने।

प्रकाशित मिति: १० कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com