सुर्खेत । कालिकोटको दुर्गम क्षेत्रबाट आकस्मिक रूपमा उद्धार गरी सुर्खेत ल्याइँदै गर्दा नेपाली सेनाको हेलिकप्टरमै जन्मिएकी शिशुको अस्पताल पुग्ने क्रममा मृत्यु भएको छ।
कर्णाली प्रदेश अस्पतालका चिकित्सकका अनुसार अस्पताल आइपुग्दा शिशुको ज्यान गइसकेको थियो।
कालिकोटको तिलागुफा नगरपालिका–९ की २० वर्षीया अबिसा खत्रीलाई अत्यधिक रक्तस्राव भएपछि सोमबार बिहान ९ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत ल्याइँदै थियो।
कर्णाली प्रदेश अस्पतालकी वरिष्ठ नर्सिङ अधिकृत कल्पना थापाका अनुसार अबिसालाई आइतबार राति १ बजेदेखि नै रक्तस्राव भइरहेको थियो। बिहान अवस्था गम्भीर भएपछि परिवारले उनलाई गाउँको चिलखाया स्वास्थ्य संस्थामा लगेका थिए। त्यहाँ उपचार सम्भव नदेखिएपछि उनलाई तत्काल कर्णाली प्रदेश अस्पताल पठाइएको थियो।
तर, सुर्खेत ल्याउने क्रममा बिहान ९ बजेर ५० मिनेटमा अबिसाले हेलिकप्टरमै शिशु जन्माएकी थिइन्।, तर बिहान १० बजेर ३० मिनेटमा कर्णाली प्रदेश अस्पताल आइपुग्दा शिशु मृत अवस्थामा थिए।
थापाका अनुसार अबिसाको गर्भ अवधि २४ हप्ता ६ दिनको मात्र भएकोले नवजात शिशुलाई बचाउन कठिन थियो। त्यसमा पनि रक्तस्राव र हेलिकप्टरमै जन्मिएको कारण जीवित रहने सम्भावना अति न्यून रहेको थियो ।
शिशुको ज्यान गए पनि आमा अबिसाको स्वास्थ्य अवस्था भने स्थिर रहेको अस्पतालले जनाएको छ। हाल उनी कर्णाली प्रदेश अस्पतालमा चिकित्सकको निगरानीमा उपचाररत छिन्।
प्रकाशित मिति: १० कार्तिक २०८२, सोमबार













प्रतिक्रिया