काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्व सांसद माधव सापकोटाले कुनै पनि बहानामा आगामी निर्वाचन टार्ने प्रयास अस्वीकार्य हुने बताएका छन्।

शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले निर्वाचनको विश्वासिलो वातावरण बनाउनका लागि सरकारले लुटिएका हतियार र फरार कैदीलाई नियन्त्रणमा लिन उच्च प्राथमिकता दिनुपर्ने सुझाव दिए। उनका अनुसार यो काम दृढ इच्छाशक्ति र सुरक्षाको प्रभावकारी संयोजनमार्फत सम्भव छ।

advertisement

लुटिएका हतियार र भागेका कैदीहरू नियन्त्रणमा नलिए निर्वाचन मात्र होइन, समाजको शान्ति–सुरक्षा र सामाजिक सद्भावमा समेत खतरा आउन सक्छ, उनले चेतावनी दिए। तर, यही बहाना बनाएर चुनावको मिति सार्ने या ढिलाइ गर्ने अधिकार कसैलाई छैन। निर्वाचनका लागि नै दलहरूले अन्तरिम सरकार गठन गरेका हुन्, त्यसैले अब सबैकुरामा सहकार्य गर्नुपर्ने बेला हो, सापकोटाले स्पष्ट पारे।

उनले सरकार र राजनीतिक दलबीच आपसी विश्वास कायम गरी मिलेर निर्वाचनको तयारीमा जुट्नुपर्नेमा जोड दिए।  राजनीतिक दल, सरकार र सरोकारवाला सबैको साझा जिम्मेवारी निर्वाचनको सहज वातावरण बनाउनु हो, उनले भने।

सापकोटाले माओवादी केन्द्रको केन्द्रीय समितिले पनि निर्वाचनलाई नै वर्तमान राजनीतिक निकासका रूपमा औँल्याएको बताए। “हाम्रो पार्टीले एकता र विशेष महाधिवेशनतर्फ ध्यान दिँदै आन्तरिक सुदृढीकरणका साथै चुनावी तयारीलाई प्राथमिकता दिने निर्णय गरिसकेको छ, उनले भने।

उनका अनुसार माओवादी केन्द्रले जनतामाझ गएर निर्वाचनको पक्षमा वातावरण निर्माण गर्ने रणनीति तय गरिसकेको छ। निर्वाचनको विकल्प छैन, त्यसैले माओवादी केन्द्र पूर्ण तयारीसहित चुनावी प्रक्रियामा जानेछ, सापकोटाले पुनः दोहोर्‍याए।

प्रकाशित मिति: १० कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com